जयप्रकाशको कुदृष्टि परेको तलेजु मन्दिरको कथा
२४ असोज, काठमाडौँ । । ऐतिहासिक तलेजु भवानीको मन्दिर सोमबार सर्वसाधारणको दर्शनका लागि खुला गरियो । हरेक वर्ष महानवमीको दिन मात्रै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ ।
महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो ।
सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्ने गरेको किंवदन्ती पाइन्छ ।
किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् ।
राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसको घुइँचो लाग्ने गर्छ ।
एक अर्को किंवदन्तीका अनुसार उनै त्रिपासा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रुपमा प्रवेश गरेकी हुन् । त्यसैबेलादेखि कुमारीलाई एकान्तकुमारीका रुपमा पुज्न थालिएको हो ।
कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएको हो । पछि काठमाडौँ र ललितपुरमा विस्तार भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । रासस

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस