कांग्रेस र माओवादीका प्रभावशाली नेतालाई एमाले कार्यकर्ताको स्वागत
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध बुधबारदेखि पाँच नम्बर प्रदेशका जनता आन्दोलनमा उत्रिएका छन् ।
जनताको आन्दोलनलाई जनताका केही प्रतिनिधिले आफ्नो पार्टी नभनी पनि समर्थन जनाइरहेका छन् । जसको अग्र स्थानमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु छन् । त्यसैगरी सत्तारुढ कांग्रेस, माओवादीका केही नेतापनि सामेल छन् ।जनताको आन्दोलनमा समर्थन जनाउँदै आफ्नो पार्टी लत्याएर जनतासँगै सडकमा उत्रिनेमा विशेषगरी कांग्रेसका चन्द्र भण्डारी र माओवादीका टोपबहादुर रायमाझी छन् ।उनीहरु शुक्रबार एमालेका शीर्ष नेताहरु वामदेव गौतम, विष्णु पौडेल र घनश्याम भुषालसँगै जनताको आन्दोलनलाई साथ दिन पाँच नम्बर प्रदेशको भैरहवा पुगेका छन् ।उनीहरुले बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसै सिलसिलामा पाँच नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रमुख तीन दलकै उनीहरु शुक्रबार दिउँसो भैरहवा विमानस्थल उत्रिए । जहाँ अनौठो दृश्य देखियो ।
नेपाली राजनीतिको इतिहासमै कांग्रेस र माओवादीका नेतालाई विमानस्थलमा एमाले नेता कार्यकर्ताले भव्य स्वागत गरे । पार्टीको निर्णय लत्याउँदै भैरहवा आन्दोलनमा पुगेका चन्द्र भण्डारी र टोपबहादुर रायमाझीलाई स्वागत गर्न कांग्रेस र माओवादीका एउटा पनि कार्यकर्ता विमानस्थल आएनन् ।सँधै नेताहरु जिल्ला आउँदा स्वागत गर्न दौडधुप गर्ने कांग्रेस र माओवादीका स्थानीय नेता कार्यकर्ता शुक्रबार चन्द्र र टोपबहादुर आउँदा विमानस्थलमा नदेखिएका हुन् ।एमाले नेताहरु सँगै आएका कांग्रेस माओवादीका नेतालाई एमाले केन्द्रीय सदस्य लिला गिरी, जिल्ला अध्यक्ष शिवराज सुवेदीसहित विमानस्थल पुगेका एमालेका नेता, कार्यकर्ताले स्वागत गरे ।एमालेका दर्जनौँ नेता, कार्यकर्ताले आफ्ना नेताहरुलाई भन्दा कांग्रेस र माओवादीका नेता भण्डारी र रायमाझीलाई जनताको पक्षमा बोलेकोमा धन्यवाद दिँदै स्वागत गरेको दृश्य हेर्न लायकको थियो ।एमाले नेता कार्यकर्ताको न्यानो स्वागत पाएपछि चन्द्र र टोपबहादुर मख्खै थिए ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस