ओलीको विकल्प खोजे मुलुकमा दुर्घटना हुन्छ : सुजाता कोइराला
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार बोल्दै उहाँले तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्नु नहुने बताउनु भयो ।उहाँले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस कांग्रेसमाथि आउन सक्ने भन्दै अहिले सरकार ढाल्ने काममा लागे संविधान कार्यान्वयन नहुने तर्फ सचेत गराउनु भयो । उहाँले सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फेरि फस्ने उल्लेख गर्दै अहिले अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने चेतावनी दिनु भयो । ‘मुलुकमा प्रचण्ड मात्रै एक्लो नेता हुन र ? उनको लागि सरकार ढाल्नु पर्ने ? उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैनन् र सफल पनि हुँदैनन्’ उहाँले भन्नुभयो । कुनै पनि सरकारलाई एउटा अवधीसम्म चल्न दिएर मुलुकमा स्थिरता कायम गरेर संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा अघि बढाउनु पर्ने धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाले जनतामा उत्साह ल्याएकोले कांग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने विश्वास ब्यक्त गर्नुभयो । कोइरालाले पार्टीभित्र अहिलेसम्म सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको अवस्थामा यस्तो कुरा कसरी बाहिर आयो भनि आश्चर्य ब्यक्त गर्दै राजनीतिक दलका नेताले सम्मान पाउने हो भने केवल प्रधानमन्त्री मात्रै बन्ने खेल खेल्न छाड्नु पर्ने सुझाव दिनु भयो ।उहाँले भन्नुभयो, ‘अहिले संविधान कार्यान्वयनको लागि निर्वाचन गरेर मुलुकलाई निकास दिनु पर्छ । सरकार परिवर्तनको खेलमा लाग्नु हुँदैन । एक त यो सरकार ढल्दै ढल्दैन, ढले पनि उनीहरु आफै सकिन्छन् ।’कोइरालाले कांग्रेस अहिले संगठन र पार्टीलाई बालियो बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको स्पष्ट पार्दै निर्वाचन र संविधान कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले कांग्रेससँग छलफल गरेर अघि बढाउनु पर्ने तर्क गर्नु भयो ।
राजनीतिक दल असफल बनाउने खेल : ज्ञवाली
नेकपा एमालेका सचिव प्रदिप ज्ञवलीले मुलुकमा अहिले निर्वाचन हुन नदिएर संविधान र राजनीतिक दलहरुलाई असफल बनाएर गैरदलीय ब्यक्ति ल्याउने खेल भईरहेको दावी गर्दै अहिले सरकार बदल्ने खेलले मुलुकको हित नगर्ने दावी गर्नुभयो । उहाँले बजेट पारित भएपछि सरकार परिवर्तन गर्ने गरी सहमति भएको हो भने प्रचण्डले बजेट पारित नहोउन्जेलसम्म धैर्यता गर्नु पर्ने भन्दै एउटा सरकारमा बसेर अर्को सरकारको कुरा गर्ने नैतिकता कसैसँग नहुने स्पष्ट पार्नुभयो । ज्ञावलीले कांग्रेस, एमाले र मधेसबादीसहित प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ग्यारेन्टी भए नेकपा एमाले सरकारको नेतृत्वको लागि छलफल गर्न खुल्ला रहेको स्पष्ट पार्दै मुलुकको समस्या समाधान हुन्छ भने नेकपा एमाले सरकारको नेतृत्व छाडेर प्रतिपक्षमा बस्न तयार रहेको बताउनु भयो ।
नेकपा एमालेले नकारात्मक भूमिका खेलेको छ : मणि थापा
नेकपा माओवादी केन्द्रका नेता मणि थापाले शान्ति प्रक्रियालाई टुङग्याउन नेकपा एमालेले नकारात्मक भूमिका खेलेको आरोप लगाउँदै राष्ट्रिय सहमतिको सरकार गठन हुन नसके शान्ति प्रक्रियाको मुद्दामा जो पोजिटिभ हुन्छ उसैसँग नजिक भएर सरकार गठन गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नौ बुँदे सहमतिमा एमाले अडिएन, अन्तर्राष्ट्रिय सन्तुलन बिग्रियो, मधेसी, थारु आदीबासी जनजातिसँग सहमति कायम गर्ने कुरा पनि भएन । भूकम्प पीडितको पक्षमा काम भएन । सरकराले सपनाको कुरा गर्यो, विपनामा एउटा विरुवा समेत रोप्न सकेन । यो सरकार गठन गर्नुको उदेश्य नै पूरा हुन सकेन ।’थापाले ठूलो दल नेपाली कांग्रेस बाहिर रहँदा संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको भन्दै राष्ट्रिय सहमति मुलुकको आवश्यकता भएकोले माओवादी केन्द्र सहमतिको सरकार गठनको लागि अग्रसर भएको दावी गर्नुभयो ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस