प्रधानमन्त्री ओलीद्वारा राजिनामा
काठमाडौं, साउन ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुभएको छ । व्यवस्थापिका संसदमा आफूमाथि परेको अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै ओलीले पदबाट राजिनामा गरेको घोषणा गर्नुभयो ।

उहाँले संसद आउनु अघि नै राष्ट्रपतिलाई भेटेर राजिनामा दिएको जानकारीसमेत संसदमा दिनुभयो । ‘आफूलाई समथर्न गर्ने सदस्यको बहुमत नपुग्ने मैंले अनुभव गरे’ ओलीले भन्नुभयो ‘त्यसैले मैले यहाँ (संसदमा) आउनु अघि नै राष्ट्रपतिलाई भेटेर राजिनामा बुझाई सकेको छु ।’
आफूमाथि सत्ता लम्ब्याउन खोजेको आरोप लागेको भन्दै ओलीले भन्नुभयो ‘म ती सबै आरोपको खारेज गर्छु ।’ राजिनामा गरेका प्रधानमन्त्री ओलीले अर्को सरकार बनाउनु लोकतान्त्रिक जस्तै देखिएपनि यथार्थमा यसले देशलाई दुरगामी नकारात्मक असर गर्ने दावी गर्नुभएको छ ।
उहाँले बहुमतका आधारमा सरकार बन्नु र भत्किनु स्वभाविक सामान्य र लोकतान्त्रिक देखिएपनि अहिलेको अवस्था त्यस्तो नभएको दावी गर्नुभयो । ‘कपडा काट्नुअघि दश पटक सोच्नुपर्छ भन्ने मान्यता छ’ नयाँ गठबन्धनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ताकि काटिसकेपछि पछुताउनु नपरोस ।’
२०५२ सालमा मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय सरकारलाई ढाल्न गरिएको षडयन्त्र जस्तै अहिलेको सरकारविरुद्ध पनि गठबन्धन गरिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीमाथि नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यो प्रस्तावमाथि शुक्रबारदेखि छलफल सुरु भएको थियो । अविश्वास प्रस्ताव दर्ता गरेसँगै कांग्रेस र माओवादीले ओलीको राजिनामा माग्दै आएका थिए । तर उहाँले आफूलाई संसदले निर्वाचित गरेका कारण संसदले नै हटाउने तर राजिनामा नगर्ने बताउँदै आउनु भएको थियो ।

ओलीले राजिनामाको घोषणा गरेका कारण संसदमा अब अविश्वासप्रस्तावमाथि मतदान गर्नु नै परेन । माओवादीले सरकारबाट फिर्ता हुँदै अविश्वासको प्रस्ताव दर्ता गरेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा, समाजवादी जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । ओली गएको असोजमा प्रधानमन्त्री चयन हुनु भएको थियो ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस