प्रधानमन्त्रीको घुमाउरो भाषा : ‘मैले नेपालीमै बोलेको हो नबुझ्ने केहि छैन’

 प्रधानमन्त्री केपी शर्मा ओलीले व्यबस्थापिका संसदमा सम्बोधन गर्दा कांग्रेससँग भएको सहमति बारे खुलेर बोल्नुभएन । संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले घर भत्काएका पीडितलाई दिइने अनुदान रकम दुई किस्तामा दिइने सहमति भएको जानकारी गराउनुभयो । बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा दुई लाख रुपैयाँ र दुई प्रतिशत ब्याजदरमा १५ र २५ लाख रुपैयाँ दिनुपर्ने मागका विषयमा सहमति भएपछि अवरुद्ध सदन सुचारु भएको हो । प्रधानमन्त्रीले सहमति अनुसार नभनि दिन सकिने मात्र भनेकाले सहमति अनुसार दुई किस्तामै अनुदान दिइने कुरा बताउनुपर्ने कांग्रेस सासंदले माग गरेका थिए । कांग्रेस सासंदले उठेर केहिबेर संसद बैठक अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको भनाई नसक्केकोले सांसदहरुलाई बसिदिन आग्रह गर्नुभयो । आफ्नो भनाई अगाडि बढाउनुभएका प्रधानमन्त्री ओलीले आफूले त्यस्तो नबुझ्ने केहि नबोलेको हुँदा विरोध गर्नु आवश्यक नरहेको बताउनुभयो । ‘केहीबेर अघि हिन्दी भाषामा सम्बोधन भएको थियो, धेरैले बुझ्नुभएन होला, मैले त नेपालीमा नै बोलिरहेको छु, नबुझिने के छ र ?’ उहाँले भन्नुभयो ।उहाँले घुमाउरो भाषा प्रयोग गरेपछि कांग्रेसका सांसदले सहमति अनुसार अघि बढ्नुपर्ने भनेर ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले सहमति गरि दुई किस्तामै अनुदान दिन सकिने बताउनुभयो । निर्देशिका र कार्यविधिमा उपयुक्त परिमार्जन गरेर तथा दातृ निकायसँग छलफल गरेर पहिलो किस्तामा डेढ लाख र त्यसपछि ५० हजार रुपैयाँ दिन सकिने बताउनुभयो । कार्यविधी परिमार्जन गर्ने भए एकमुष्ट रुपमै दुई लाख रुपैयाँ दिन पनि सरकारलाई आपत्ति नहुने बताउनुभयो । उहाँले पुनर्निर्माणमा सरकारले कुनैपनि राजनीतिक विभेद नगरेको बताउनुभयो । राजनीतिक आस्थाका आधारमा राहत वितरण गरिएको, कर्मचारी नियुक्त गर्न तथा गैरसरकारी संस्थालाई पुनर्निर्माणको कामको जिम्मा दिँदा पनि राजनीतिक विभेद गरिएको भन्ने आरोप गलत भएको बताउनुभयो । दातृराष्ट्रले नेपाललाई पुनर्निर्माणका लागि दिने भनेको रकमका लागि निश्चित कार्यविधि बनाइएको र त्यसै अनुसार अनुदान वितरणको निर्णय गरिएको उहाँले बताउनुभयो । पुनर्निर्माण अहिले तिब्रताका साथ अघि बढेको दावी गर्दै उहाँले यसअघिको सरकारले चार किस्तामा अनुदान दिने निर्णय गरेकोमा अहिलेको सरकारले चार किस्तामा गर्दा ढिलो हुने भएकाले तीन किस्तामा दिने निर्णय गरेको स्मरण गराउनुभयो । अहिलेसम्म ७ लाख १७ हजारभन्दा धेरै घरको घरधुरी सर्वेक्षण गरिएको ५ लाख २७ हजार भन्दा बढीले अनुदान पाउने तय भएको, गाउँगाउँमा प्राविधिक पठाइएको उहाँले जानकारी गराउनुभयो । पीडितले बनाएको घर भूकम्प प्रतिरोधि भएको प्रमाणित भए दुई लाख रुपैयाँ एकमुष्ट दिइने बताउनुभयो । प्रधानमन्त्री केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कार्यदलको बैठकमा सहमति भएको थियो ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने बैठक बहिष्कार गरेको छ । तराई–मधेसवादी दलले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै सदनको बैठक केही समयदेखि निरन्तर बहिष्कार गरिरहेको छ । 
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आवद्ध सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो ।

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस