आज राष्ट्रिय धान दिवस

 राष्ट्रिय धान दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईदै छ । नेपालले २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ ।

यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाइँदैछ ।     
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । देशको अर्थतन्त्रमा यसले उल्लेखनीय भूमिका खेलेको छ । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्‍‍याएको छ । कृषि विभागका अनुसार नेपालमा झण्डै १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
तराईमा झण्डै ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । धान खेती हुने क्षेत्रफलमध्ये ९० प्रतिशतमा रोपाइँ गरिन्छ भने १० प्रतिशतमा मेसिनद्वारा धान रोपिन्छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कले अहिले तराई क्षेत्रका लागि ‘राधा १३’, ‘राधा १४’ र ‘सुगन्धित धान १’ जातका धानका बीउ सिफारिस गरेको छ ।
यसैगरी राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, वनस्पति महाशाखा र गैह्रसरकारी संस्थाको संयुक्त प्रयासमा नार्कले भौगोलिक हावापानी सुहाउँदो ७८ धानको जात सिफारिस गरेको छ । कृषि विज्ञका अनुसार अझैपनि नेपाली किसान परम्परागत तथा स्थानीय बीउको प्रयोग गर्दै आएका छन् ।
उन्नत जातका धानका बीउमा कृषकको पहुँच पुग्ने हो भने २० प्रतिशतसम्म धान उत्पादन बढाउन सकिने धानविज्ञ भोलामान सिंह बस्नेतको भनाइ छ । अहिले नेपालको धान उत्पादकत्व ३.१७ मेट्रिक टन÷प्रति हेक्टर छ, यसलाई बढाएर ४ मेट्रिक टन÷प्रति हेक्टर बनाउन सकेमात्र पनि मुलुकभित्रको मागलाई पुरा गर्न सकिने विज्ञहरु बताउँछन् ।
पोहोरको भूकम्प र त्यसपछि भारतको नाकाबन्दीका कारण गएको वर्ष धान उत्पादनमा १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क छ । नेपालमा अहिले वार्षिक ३४ लाख मेट्रिक टन चामलको माग हुने गरेकामा २८ लाख मेट्रिक टन मात्र चामलको आपूर्ति भइरहेको छ ।
कृषि क्षेत्रको अन्नबालीमध्ये धानको योगदान ५२  प्रतिशत छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । वैज्ञानिकका अनुसार २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ ।
नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।
खेतीपाती बाहेक अरु पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । 

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस