राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
LIVE UPDATE: राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत जारी
690SHARES
वैशाख २६, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्लाई सम्बोधन गरी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तण गरेका थिए ।
एमाले अध्यक्ष केपी ओली २०७२ असोज २४ मा प्रधानमन्त्री निर्वाचित भएको सात महिनापछि सरकारको नीति तथा कार्यक्रम ल्याएको हो । राष्ट्रपति भण्डारीले पहिलोपटक संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
उनी संसद्बाट गत कात्तिक पहिलो साता राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेको थियो ।
प्रकाशित: वैशाख २६, २०७३
Live Updates
वैशाख २६, २०७३ १७:३३:५७
न्यायोचित आर्थिक विकास, स्वाधीन अर्थतन्त्रको निर्माण र समृद्धितर्फको अभियानबाट राष्ट्रिय एकता सुदृढ तुल्याउँदै दीगो शान्ति र समुन्नत समाज निर्माण गर्न सरकारलाई सबैको सहयोग प्राप्त हुने मैले अपेक्षा गरेकी छु ।
वैशाख २६, २०७३ १७:३२:५७
सुन्दर, शान्त र समतामूलक समृद्ध नेपाल एवं सुखी नेपाली आकाङ्क्षा संभव छ र त्यसको प्राप्तिको लागि यो संविधान माध्यम हुने मैले विश्वास लिएकी छु ।
वैशाख २६, २०७३ १७:३२:३९
संविधानको पूर्ण कार्यान्वयनको चरणमा मुलुक प्रवेश गरिरहेको अवस्थामा राष्ट्रिय एकताको प्रवर्धन र राष्ट्रिय सामथ्र्यवृद्धि गर्दै राष्ट्रिय स्वाभिमानलाई उच्च राख्ने कार्यमा सरकार प्रतिबद्ध रहने छ ।
वैशाख २६, २०७३ १७:३२:२३
नेपालको संविधानमार्फत् नेपाली जनताले प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरुको जगेर्ना र संस्थागत विकासको लागि संवाद, सहमति र सहकार्यबाट अघि बढ्नु नेपालको हितमा छ ।
वैशाख २६, २०७३ १७:३०:२८
प्रधानमन्त्रीद्वारा छिमेकी मित्र राष्ट्रहरुको राजकीय एवं औपचारिक भ्रमणका क्रममा भए गरिएका दुई पक्षीय सन्धि, सम्झौता र समझदारी अनुरुप परियोजना र कार्यक्रमहरुलाई कार्यान्वयन गरिने छ ।
वैशाख २६, २०७३ १७:३०:०१
सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउँदै राष्ट्रिय हितको रक्षा गरिने छ ।
वैशाख २६, २०७३ १७:२९:५२
पञ्चशीलमा आधारित सन्तुलित परराष्ट्र नीति कायम गर्दै छिमेकी राष्ट्रहरुसँगको राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ तुल्याइने छ ।
वैशाख २६, २०७३ १७:२९:३२
आफ्नो गाउँ आफै बनाऔं भन्ने कार्यक्रमलाई उत्पादन र उद्यमशीलतासंग जोडेर अझ प्रभावकारी बनाइनेछ ।
वैशाख २६, २०७३ १७:२८:५२
सार्वजनिक संस्थानमा पदाधिकारीहरुको नियुक्ति र योग्यतासम्बन्धी नीतिगत एवम् कानुनी व्यवस्था गरिने छ ।
वैशाख २६, २०७३ १७:२७:३३
वर्तमान भुक्तानी प्रणालीमा सुधार गर्दै यस बर्षदेखि स्रोतमा हुने करकट्टीलाई स्थायी लेखा नंबरमा आबद्ध गराउने र आगामी बर्षदेखि तोकिएको रकमभन्दा माथिको भुक्तानीलाई सोझै सम्बन्धित खातावालाको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था मिलाइने छ ।
वैशाख २६, २०७३ १७:२५:४१
सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले नियमित रुपमा बुझाउनुपर्ने सम्पत्ति विवरणको अनुगमन गरिने छ ।
वैशाख २६, २०७३ १७:२४:१७
आगामी दिनमा हुने प्रदेशसभा, स्थानीय तह र प्रतिनिधिसभा लगायतको निर्वाचन स्वतन्त्र र स्वच्छरूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिने छ ।
वैशाख २६, २०७३ १७:२३:३४
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाको योगदानमा वृद्धि गरिने छ ।
वैशाख २६, २०७३ १७:२३:२६
नेपाली सेनालाई समयानुकूल साधन, स्रोतसम्पन्न र सक्षम बनाउँदै विपद् व्यवस्थापन एवं मुलुकको पूर्वाधार विकासमा सहभागी गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
वैशाख २६, २०७३ १७:२३:१७
राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी कानुन तर्जुमा गरिने छ ।
वैशाख २६, २०७३ १७:२३:०४
नेपालको समग्र राष्ट्रिय हितका लागि राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्दै प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गरिने छ ।
वैशाख २६, २०७३ १७:२२:३८
न्यायप्रणालीलाई संघीय संरचना अनुकूल व्यवस्थित गरिने छ ।
वैशाख २६, २०७३ १७:२२:१०
व्यवस्थापिका–संसदमा विचाराधीन देवानी संहिता, अपराध संहिता, देवानी कार्यविधि संहिता, फौजदारी कार्यविधि संहिता र फौजदारी कानुनमा सजाय निर्धारण लगायतका विधेयकहरु पारित गराइने छ ।
वैशाख २६, २०७३ १७:२१:३८
राष्ट्रिय परिचय–पत्र वितरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ ।
वैशाख २६, २०७३ १७:१९:५९
विपद् व्यवस्थापनसम्बन्धी नयाँ ऐन तर्जुमा गरी लागु गरिने छ ।
वैशाख २६, २०७३ १७:१९:५१
विपद् व्यवस्थापनको लागि विद्यमान संस्थागत संरचनाहरुलाई संघीय स्वरुप अनुरुप हुने गरी परिमार्जन गर्दै खोज, उद्धार तथा राहत कार्यका लागि संस्थागत सुदृढीकरण एवं क्षमता अभिवृद्धिमा जोड दिइने छ ।
वैशाख २६, २०७३ १७:१९:२६
महत्वपूर्ण सार्वजनिक स्थलहरुमा दूरसञ्चार सेवा प्रदायक संस्था र सम्बन्धित संस्थाले लागत ब्यहोर्ने गरी निःशुल्क इन्टरनेट सेवा दिने कार्य सुरु गरिने छ ।
वैशाख २६, २०७३ १७:१८:३०
श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनको अनुगमनलाई निरन्तरता दिइने छ ।
वैशाख २६, २०७३ १७:१७:४३
निश्चित आधार तथा मापदण्ड निर्धारण गरी सञ्चार माध्यमहरुको वर्गीकरण तथा विशिष्टीकरण गरिने छ ।
वैशाख २६, २०७३ १७:१७:२४
आम सञ्चार माध्यमलाई मर्यादित र व्यावसायिक बनाउन आम–सञ्चार नीति कार्यान्वयनमा ल्याइने छ ।
वैशाख २६, २०७३ १७:१६:२२
तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा रङ्गशाला स्तरोन्नतिको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ ।
वैशाख २६, २०७३ १७:१६:१२
स्वस्थ तथा अनुशासित नागरिक समाजको सिर्जना गर्न खेलकूद विकासमा जोड दिइने छ ।
वैशाख २६, २०७३ १७:१५:४८
सेवा निवृत्त राष्ट्रसेवकहरुको निवृत्तिभरण व्यवस्थामा सुधार गरिने छ ।
वैशाख २६, २०७३ १७:१५:२७
बालश्रमको अन्त्यका लागि सञ्चालित कार्यक्रमलाई निरन्तरता दिदै बालश्रम निवारणका लागि गुरु–योजना तयार गरी कार्यान्वयनमा ल्याइने छ ।
वैशाख २६, २०७३ १७:१४:०२
“जनताको लगानीमा जलविद्युत” जस्ता कार्यक्रम सञ्चालन गरी तोकिएका आयोजनाहरुमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको रेमिटेन्सको समेत प्रयोग हुनेगरी कार्यान्वयन प्रारम्भ गरिने छ ।
वैशाख २६, २०७३ १७:१३:४६
वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र भरपर्दो बनाउन सीपमूलक, व्यावसायिक र प्राविधिक जनशक्तिलाई आकर्षक र सुरक्षित गन्तव्यमा पठाउने र वैदेशिक रोजगारीबाट प्राप्त हुने ज्ञान, सीप, अनुभव र विप्रेषणलाई मुलुकको आर्थिक विकासमा उपयोग गर्न सक्नेगरी नीतिगत एवं कानुनी व्यवस्था मिलाइने छ ।
वैशाख २६, २०७३ १७:१२:०२
युवा स्वरोजगार कार्यक्रम, कृषिको पकेटक्षेत्र विकास कार्यक्रम एवं लघु तथा घरेलु उद्योग कार्यक्रमबीच समन्वय गरी ‘दश युवा एक युवा उद्यम कार्यक्रम’ आगामी आर्थिक बर्षमा नमूनाको रुपमा सञ्चालन गरिने छ ।
वैशाख २६, २०७३ १७:११:१८
यस कार्यक्रम अन्तरगत आगामी आर्थिक बर्षमा दलित, लोपुन्मुख र विपन्न वर्गका लागि २० हजार घर निर्माण गरी जनतालाई हस्तान्तरण गरिने छ ।
वैशाख २६, २०७३ १७:११:०२
न्यूनतम आवास सुविधा नागरिकको हक भएको र यसको व्यवस्था गर्नु राज्यको कर्तव्य भएकोले न्यून आय भएका वर्गलाई लक्षित गरी जनता आवास कार्यक्रम सञ्चालन गरिने छ ।
वैशाख २६, २०७३ १७:१०:०२
विपन्नव्यक्ति, परिवार, समुदाय तथा भौगोलिकक्षेत्रका आधारमा परिचयपत्र वितरण कार्य सम्पन्न गरिने छ ।
वैशाख २६, २०७३ १७:०९:४१
सार्वजनिक स्थान, कार्यालय र विद्यालयहरुमा अनिवार्य रुपमा महिला शौचालय हुनुपर्ने व्यवस्था गरिने छ ।
वैशाख २६, २०७३ १७:०८:४०
महिलाहरुको हक अधिकार सुनिश्चित गर्दै राष्ट्र निर्माणको प्रत्येक तहमा समान सहभागिता सुनिश्चित गराउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ सञ्चालन गरिने छ ।
वैशाख २६, २०७३ १७:०७:३८
बालबालिकाको उचित पालन पोषणबाट मात्र स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यका साथ सुरु गरिएको बालसंरक्षण कार्यक्रमलाई क्रमशः मुलुकभरका सबै बालबालिकालाई समेट्ने गरी बिस्तार गरिने छ ।
वैशाख २६, २०७३ १७:०६:५३
वीर अस्पताललाई जनताले विशेषज्ञ सेवा उपचार प्राप्त गर्नसक्ने गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिनेछ ।
वैशाख २६, २०७३ १७:०६:३५
आर्युवेदिक औषधिको विश्वसनीयताका लागि सिंहदरबार बैद्यखानामा समुचित उत्पादन प्रक्रिया अपनाइने छ ।
वैशाख २६, २०७३ १७:०६:०७
राष्ट्रिय स्वास्थ्य बीमालाई स्वास्थ्य सुरक्षाको अभिन्न अङ्गको रुपमा अघि बढाइने छ ।
वैशाख २६, २०७३ १७:०५:४४
प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच हुने मौलिक हकलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने छ ।
वैशाख २६, २०७३ १७:०४:५३
उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण उपलब्ध गराइने छ ।
वैशाख २६, २०७३ १७:०३:३५
नेपाल टेलिभिजनसँग समन्वय गरीछुट्टै शैक्षिक च्यानल सञ्चालनमा ल्याइने छ ।
वैशाख २६, २०७३ १७:०२:२९
विज्ञान, प्रविधि र व्यावसायिक विषय अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई सहुलियत ऋणको व्यवस्था गरिने छ ।
वैशाख २६, २०७३ १७:०१:५८
आधारभूत शिक्षामा सबै नागरिकको हक सुनिश्चित गर्दै कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क तुल्याउँदै लगिने छ ।
वैशाख २६, २०७३ १७:००:१३
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउँदै यसको साख वृद्धि गरिने छ ।
वैशाख २६, २०७३ १७:००:०५
आन्तरिक हवाइ सुरक्षा सुधार गर्न राडार प्रणालीको स्तरोन्नति गरिने छ ।
वैशाख २६, २०७३ १६:५९:५५
नेपालको हवाइ उड्डयनलाई थप सुरक्षित बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप हवाइ सुरक्षा मापदण्ड कडाइका साथ लागु गरिने छ ।
वैशाख २६, २०७३ १६:५९:१९
बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जग्गा प्राप्ति तथा सीमाङ्कनको कार्य सम्पन्न गरी निर्माण कार्य सुरु गरिने छ ।
वैशाख २६, २०७३ १६:५८:४४
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिने छ ।
वैशाख २६, २०७३ १६:५७:३०
मुलुकको साँस्कृतिक विविधताको संरक्षण र प्रवर्धन गर्दै विभिन्न जातजाति तथा भाषाभाषीहरुको रहन–सहन, रीति–रिवाज, भाषा, साहित्य र परम्परा समेत झल्कने गरी काठमाडौं उपत्यकामा राष्ट्रिय सांस्कृतिक संग्रहालय निर्माणको कार्य अघि बढाइने छ ।
वैशाख २६, २०७३ १६:५५:५२
दशलाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०१८ लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउन कार्यक्रम सञ्चालन गरिने छ ।
वैशाख २६, २०७३ १६:५४:५९
फोहरलाई ऊर्जा र मलमा रुपान्तरण गर्ने परियोजनालाई द्रुतरुपमा अघि बढाइने छ ।
वैशाख २६, २०७३ १६:५४:४०
काठमाडौं उपत्यकामा फोहरमैलाको दीगो व्यवस्थापनको लागि दीर्घकालीन ल्याण्डफिल साइटको पूर्वाधार निर्माण कार्य आगामी तीन बर्षभित्र सम्पन्न गरिने छ ।
वैशाख २६, २०७३ १६:५३:५६
राष्ट्रिय भवन संहितालाई कडाइका साथ लागु गरी सरकारी भवनहरुको निर्माण, मर्मत–संभार, संरक्षण र रेखदेख एउटै निकायबाट गर्ने व्यवस्था मिलाइने छ ।
वैशाख २६, २०७३ १६:५३:२०
सवारी साधनहरुमा इम्बोस्ड नम्बर–प्लेट लागू गरिने छ ।
वैशाख २६, २०७३ १६:५२:२२
हुम्ला र डोल्पा जिल्लाको सदरमुकामलाई दुई बर्षमा राष्ट्रिय सडक सञ्जालसंग जोडिनेछ ।
वैशाख २६, २०७३ १६:५१:४०
काठमाडौं उपत्यकामा चक्रपथभित्रको सबै सडक एक बर्षभित्र कालोपत्रे गरिने छ ।
वैशाख २६, २०७३ १६:५१:२४
काठमाडौं उपत्यकामा भइरहेको सडक बिस्तार कार्यलाई तीव्ररुपमा अगाडि बढाउँदै अन्य ठूला शहरहरुमा पनि सडक बिस्तार कार्य अगाडि बढाइने छ ।
वैशाख २६, २०७३ १६:५०:३१
पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–बुटवल खण्डलाई चार लेनको द्रुत मार्गको रुपमा निर्माण गर्ने कार्य प्रारम्भ गरिने छ ।
वैशाख २६, २०७३ १६:५०:०९
सबै रणनीतिक र प्रादेशिककेन्द्र जोड्ने सडकहरु न्यूनतम दुई लेन र कालोपत्रेस्तरमा निर्माण तथा स्तरोन्नति गरिने छ ।
वैशाख २६, २०७३ १६:४९:५७
सडक, रेल तथा यातायात विकासको पाँच बर्षे रणनीतिक योजना कार्यान्वयन गरिने छ ।
वैशाख २६, २०७३ १६:४९:४७
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पर्क–सम्बन्ध तथा आर्थिक समृद्धिको आधारको रुपमा रहेको यातायात सेवामा लगानी बढाइने छ ।
वैशाख २६, २०७३ १६:४९:३७
जलवायु परिवर्तन अनुकूलन कार्यक्रमलाई अघि बढाउँदै जलवायु–स्मार्ट गाँउको अवधारणा क्रमशः कार्यान्वयन गरिने छ ।
वैशाख २६, २०७३ १६:४८:०२
काठमाडौं उपत्यकामा पानीको आपूर्ति गर्न मेलम्ची खानेपानी आयोजनाको सुरुङ तथा पानी प्रसोधनकेन्द्र निर्माणको अधिकाङ्श कार्यसहित पानी वितरणमा आवश्यक संरचनाहरुको निर्माण–कार्यसम्पन्न गरिने छ ।
वैशाख २६, २०७३ १६:४७:४०
तराई–मधेसमा खानेपानी सुधार कार्यक्रमको थालनी गरिने छ ।
वैशाख २६, २०७३ १६:४५:२७
वायु, जल, ध्वनि र भू–प्रदूषण रोक्नका लागि वातावरणीय मापदण्ड परिमार्जन गरी वातावरण–मैत्री पूर्वाधार विकासमा जोड दिइने छ ।
वैशाख २६, २०७३ १६:४४:२४
तराई तथा भित्री मधेसका २२ वटा जिल्लाहरुमा समृद्ध तराई–मधेस सिंचाइ विकास विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
वैशाख २६, २०७३ १६:४२:५४
प्राकृतिकरुपमा संभव भएका सबै प्रदेशमा कम्तीमा एक–एक जलासययुक्त विद्युत आयोजना निर्माण गर्नेगरी विस्तृत अध्ययन सुरु गरिने छ ।
वैशाख २६, २०७३ १६:४१:५५
राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजना–२०७२ कार्यान्वयन गर्दै वि. सं २०८२ भित्र दश हजार मेघावाट जलविद्युत उत्पादन गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ ।
वैशाख २६, २०७३ १६:४१:२९
एक बर्षभित्र आधारभूतरुपमा र दुई बर्षभित्र माग बमोजिम विद्युत आपूर्ति गर्नेगरी सरकारले जलविद्युत र अन्य नवीकरणीय ऊर्जा उत्पादन कार्य अघि बढाउने छ ।
वैशाख २६, २०७३ १६:४०:५८
खडेरीग्रस्त जिल्ला र बस्तीहरुमा थप खाद्यान्न पठाउने काम गरिने छ ।
वैशाख २६, २०७३ १६:४०:३०
पेट्रोलियम पदार्थको आपूर्ति नियमित र सहज बनाउन कम्तीमा ९० दिनको माग धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने छ ।
वैशाख २६, २०७३ १६:४०:२१
पेट्रोलियम पदार्थ तथा ग्याँसको परनिर्भरताको निराकरण गर्न देशभित्र पेट्रोलियम पदार्थ र ग्याँसको अन्वेषण एवं उत्खनन कार्यलाई प्राथमिकताकासाथ अघि बढाइने छ ।
वैशाख २६, २०७३ १६:३९:५१
उपभोक्ताको हित संरक्षण गर्न सबै खाद्य–सामग्रीका प्याकेटमा अधिकतम बिक्री मूल्य, उत्पादन र उपभोग्य मिति, प्रयोग भएको कच्चा पदार्थ र पोषणको अवस्था खुलाउनुपर्ने कानुनी व्यवस्था गरिने छ ।
वैशाख २६, २०७३ १६:३९:१६
अन्तर्राष्ट्रिय बजारको संभावना बढ्दै गएको तयारी पोशाक उद्योगको विकास र बिस्तार गर्न सिमरामा दुई बर्षभित्र सबै पूर्वाधार पुर्याउने गरी विशेष आर्थिकक्षेत्र निर्माण कार्य अघि बढाइने छ ।
वैशाख २६, २०७३ १६:३८:२५
रोजगारीलाई सामाजिक सुरक्षाको महत्वपूर्ण कडीको रुपमा स्थापित गर्न एक घर, एक रोजगारी प्रत्याभूतिको व्यवस्था गरिने छ । यसका लागि आवश्यक कानुनी व्यवस्था गरिने छ ।
वैशाख २६, २०७३ १६:३४:३४
वैज्ञानिक भूमिसुधार कार्यान्वयन गर्दै एकपटक सबैको लागि भूमिमा पहुँच सुनिश्चित गरी सधैंका लागि सुकुम्बासी समस्या समाधान गर्नेतर्फ सरकारले कार्य गर्नेछ ।
वैशाख २६, २०७३ १६:३१:३८
युवाहरुलाई कृषिमा आकर्षित गर्दै वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई समेत यसमा आबद्ध गरिने छ ।
वैशाख २६, २०७३ १६:३१:०३
कृषिक्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्दै यसलाई मर्यादित, सम्मानित एवं आकर्षक पेसाको रुपमा विकास गरिने छ ।
वैशाख २६, २०७३ १६:२७:५३
आगामी १५ वर्षभित्र मध्यम आय भएका मुलुकहरुको वर्गमा पुग्नेतर्फ सरकारले अठोट गरेको छ ।
वैशाख २६, २०७३ १६:२६:३५
लोकतन्त्रका मूल्य–मान्यतामा आधारित समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माण गर्ने ध्येय सहितको चौधौं त्रिवर्षीय योजना सरकारले तयार गरी आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्ने छ ।
वैशाख २६, २०७३ १६:२५:१५
आधारभूत औषधि तथा स्वास्थ्योपचारका उपकरणहरुको उत्पादन बढाई औषधि उपचारमा आत्मनिर्भर हुने र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारको प्रयास रहने छ ।
वैशाख २६, २०७३ १६:२३:५९
आगामी तीन बर्ष भित्र सबै विद्यालयहरु, अधिकांश अस्पताल र स्वास्थ्य चौकीहरुको पुनर्निर्माण गर्नेगरी काम तीब्र पारिने छ ।
वैशाख २६, २०७३ १६:२३:३७
मैं बनाउँछु मेरो धरहरा अभियानलाई अगाडि बढाई तीन वर्षमा धरहराको पुनर्निर्माण गरिनेछ ।
वैशाख २६, २०७३ १६:२३:२०
भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरु, राष्ट्रपति निवास, प्रधानमन्त्रीको कार्यालय, संसद भवन, सर्वोच्च अदालत, नेपाली सेनाको मुख्यालय, निर्वाचन आयोगको कार्यालय, मानव अधिकार आयोगको कार्यालय, राष्ट्र बैंक लगायतका महत्वपूर्ण सरकारी भवनहरुको निर्माण प्रकृया अघि बढाइनेछ ।
वैशाख २६, २०७३ १६:२१:५९
दुई वर्षभित्र सबै नीजि घर निर्माण गर्ने कार्य सम्पन्न गर्ने गरी अनुदान पाउनयोग्य सबैलाई सहज रुपमा अनुदान उपलव्ध गराइसकिने छ ।
वैशाख २६, २०७३ १६:२१:१२
नीजि आवासका लागि रु. दुई लाख अनुदानको अतिरिक्त घरधनीहरुको सामूहिक जमानीमा थप रु. तीन लाख बिना धितोमा र ग्रामिण क्षेत्रमा रु. १५ लाख र काठमाण्डौ उपत्यकामा रु. २५ लाखसम्म धितोको आधारमा सहुलियत कर्जा उपलब्ध गारइने छ ।
वैशाख २६, २०७३ १६:१९:४७
संविधानसंग मेल नखाने १९३ वटा कानूनहरु यसै सम्मानित सदनबाट संशोधन भइसकेका छन् र थप १३८ कानूनहरुको निर्माण यसै सालमा गरिनेछ ।
वैशाख २६, २०७३ १६:१७:५५
नेपाली जनताबाट निर्वाचित सार्वभौम संविधानसभाले स्वतन्त्रतापूर्वक निर्माण गरेको संविधानले राष्ट्रिय स्वाधीनता र स्वाभिमान, लोकतन्त्र, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको नयाँ युग शुरु गरेको छ ।
वैशाख २६, २०७३ १६:१३:१३
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्लाई सम्बोधन गरी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तण गरेका थिए ।
वैशाख २६, २०७३ १६:१०:२१
संसद बैठक सुरु भएको छ ।
वैशाख २६, २०७३ १६:०८:४४
राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन प्रवेश गरेकी छन् । उनलाई प्रधानमन्त्री, सभामुख र संसद सचिवालयका उच्च अधिकारीले स्वागत गरेका छन् ।
वैशाख २६, २०७३ १६:०७:२२
प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई स्वागत गरेका छन् ।
वैशाख २६, २०७३ १६:०७:१९
प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई स्वागत गरेका छन् ।
वैशाख २६, २०७३ १६:०६:५३
प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन प्रवेश गरेका छन् ।
वैशाख २६, २०७३ १६:०२:५५
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन संसद भवन झकिझकाउ बनाइएको छ ।
http://bit.ly/24EHLk0

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस