अन्तत देउवालाई प्रचण्डले धोका दिए, एमाले–एमाओवादी सहकार्य नटुट्ने
मन्त्रीहरु बैठकमा सहभागी हुने कि नहुने भन्नेमा विहानभर छलफलमा
विश्वासिलो र भरपर्दो पात्र नभएको आलोचना खेपेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई धोका दिएका छन् । देउवाको प्रस्ताव स्वीकार्दै प्रधानमन्त्री बन्न सार्वजनिक अपिल गरेका प्रचण्ड स्थानीय निर्वाचनसम्म एमाले र एमाओवादीबीच सहकार्य गर्ने निचोडमा पुगेका हुन् ।एमाओवादी स्रोतका अनुसार प्रचण्डले आफ्ना मन्त्रीहरुलाई बिहीबार साँझ बस्ने मन्त्रिपरिषदको बैठक उपस्थित हुन समेत निर्देशन दिएका छन् । पार्टीको निर्णयपछि एमाओवादी मन्त्रीहरु बैठकमा सहभागी हुने कि नहुने भन्नेमा विहानभर छलफलमा जुटेका थिए । स्रोतका अनुसार उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बजेटको तयारी गरेको बेलामा सरकार परिवर्तनको खेलमा लाग्दा राम्रो सन्देश नजाने बताएका थिए । एमाओवादीका नेताहरुले पनि वामपन्थी गठबन्धनको सरकार त्यागेर भारतको निर्देशनमा हिडेको जस्तो देखिने गरी नयाँ समिकरण बनाउन नहुनेमा जोड दिएका थिए । तर केही एमाओवादीका नेताहरुले भने जसरी पनि सरकार परिवर्तन गरेरै छाड्नुपर्ने बताएका थिए ।एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने र उनले तत्काल सत्ता छाड्नुपर्ने तर्क कांग्रेसका नेताहरुले गर्न थालेका थिए । तर प्रचण्डको पछिल्लो निर्णयसँगै ओली सरकार स्पष्ट बहुमतमा रहने छ । कांग्रेस नेताहरुको मुखमा भने बिर्को लागेको छ । प्रचण्डल आफ्नै निवासमा आएका कांग्रेस सभापति शेरबहादुर देउवालाई तत्काल आफ्नो नेतृत्वमा सरकार गठन सम्भव नभएको बताएका छन् । ‘आफ्नो नेतृत्वको सरकार गठनका लागि साथीहरुलाई मनाउन सकिएन, त्यसैले अहिले नयाँ सरकार सम्भव भएन’ प्रचण्डको भनाई उदृत गर्दै भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने । लाजिम्पाट बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले भने ‘प्रचण्डले धोका दियो’ ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस