अपडेट: युवा संघ रुपन्देही अध्यक्षको गोली हानी हत्या
पुस, बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । उनलाई देवदह बजारस्थित घर नजिकै एक व्यक्तिले गोली हानेका हुन् ।
गोली लागेर तिवारीको मृत्यु भएको युवा संघ उपाध्यक्ष दिलु पन्तले अनलाइनखबरलाई जानकारी दिइन् । रातो पल्सर मोटरसाइकल चढेर आएका गोली चलाउने युवकले भारतीय नम्बरबाट प्रहरी समक्ष फाेन गरेर घटनाकाे जिम्मेवारी लिएको उपाध्यक्ष पन्तले दाबी गरिन् । प्रहरीले गोली चलाएको आरोपमा मनोज राना पुनलार्इ पक्राउ गरेकाे भनिए पनि पुष्टि हुन अझै बाँकी छ । प्रहरी स्रोत अहिलेसम्म कसैले हालसम्म अात्मसमर्पण नगरेकाे बताउँछ ।
पुनले छ महिना अघि पनि तिवारीलार्इ गाेली हान्ने प्रयास गरेकाे प्रहरीकाे भनाइ छ ।
युवा संघ उपाध्यक्ष पन्तका अनुसार अहिले युवासंघको आपतकालीन बैठक बोलाइएको छ । बैठकले घटनाप्रति खेद प्रकट गर्दै तिवारीमाथि श्रद्धाञ्जली अर्पण गरेकाे छ ।
रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलार्इ देवदह मेडिकल कलेजमा लगिएको थियो ।
रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले घटनाकाे थप अनुसन्धान भइरहेकाे जानकारी दिए । उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शील गरिएको छ ।
घटनाबारे बुझ्न पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी कमलसिंह बम पनि पोखराबाट बुटवल आउँदैछन् ।
तिवारीको हत्यामा मनोजको संलग्नता ! लेनदेन कारण भएको दाबी
४ पुस, काठमाडौं । युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज राना पुनको संलग्नता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
एक उच्च प्रहरी अधिकारीका अनुसार घटनापछि मनोजले घटना आफूले गराएको भनेका छन् । तर, प्रहरीले भने औपचारिक जानकारी नआएको बताएको छ ।
तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
तिवारीको केवीआई इँटा उद्योग छ । प्रहरीका अनुसार करिब ६ महिना अघि उद्योगमै उनीमाथि आक्रमण भएको थियो । उक्त घटनामा संलग्न ८ जना पक्राउ परेपछि मनोज भागेका थिए ।
पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कमलसिंह बमले अनलाइनखबरसँग भने, ‘तिवारीमाथि यसअघि पनि आक्रमणको प्रयास भएको रहेछ । त्यही समूह संलग्न भएको हुनसक्छ । हामी अनुसन्धान गरिरहेका छौं ।’
प्रहरी अधिकारीहरुले यो घटना राजनीतिकभन्दा आर्थिक लेनदेनमा भएको हुनसक्ने आशंका गरेका छन् ।
तिवारीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एमालेको माग

योगेश भट्टराई, सचिव, नेकपा एमाले
४ पुस, काठमाडौं । नेकपा एमालेले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
एमाले सचिव योगेश भट्टराईले घटनाबारे छानविनका लागि सरकारले तत्काल आयोग बनाउनु पर्ने माग गरे । ‘घटनाबारे छानविन गर्नुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भनेका छन् ।
एमालेले यो घटनालाई प्रदेश नम्बर ५ को सीमांकन हेरफेरसँग जोडिएको छ छैन अध्ययन गर्न पार्टी कमिटीलाई भनेको छ ।
‘हिजो उद्योग वाणिज्य संघका अध्यक्षमाथि गोली हानियो । आज युथ फोर्सका अध्यक्षको हत्या भएको छ,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘यसको त्यहाँ भइरहेको आन्दोलनसँग कुनै न कुनै लिंकेज हुनुपर्छ । हेर्न भनेर पार्टी कमिटीलाई भनेका छौं ।’


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस