एमाले अध्यक्ष ओलीले ल्याए संघियताको नयाँ प्रस्ताव
फाइल तस्वीर
काठमाडौं, ७ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता र सीमाकंनमा पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमति बाध्यताले र परिस्थितीका कारण भएको भन्दै ओलीले अब प्रदेशको सीमांकन उत्तर–दक्षिण जोड्नेगरी अहिलेकै पाँच विकास क्षेत्रलाई आधार बनाएर गर्नुपर्ने बताए ।
पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउने माग अधिकांश नेपाली जनताको हो । जब जब संघीयता र सीमांकनको कुरा आउँछ तब जनताहरुले पाँच प्रदेशको उठाउथे । तर, आज देशकै दोस्रो ठूलो दलका प्रमुख नेताले पाँच प्रदेशको खाका अघि सारेपछि राजनीतिमा तरंग पैदा भएको छ ।
अधिकांश जनताले उनको यो प्रस्तावलाई लिएर प्रंशसा गरिरहेका छन् । केहीले भने परिवर्तन विरोधी भन्दै विरोध गरिरहेका छन् ।
कसरी आयो पाँच प्रदेशको कुरा ?
बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस, एमाले र माओवादीसम्बद्ध पूर्वसांसदहरुको जम्बो टोली बालकोट पुग्यो । आफ्नै निवासमा भेट्न आएको टोलीलाई ओलीले भव्य स्वागत गरे ।
भेटमा देशको समसामयिक परिस्थितीबारे छलफल भयो । छलफलका क्रममा अहिले सरकारले ल्याएको संविधान संशोधन, पाँच नम्बर प्रदेश टुक्राउने निर्णय, त्यसपछि उत्पन्न आन्दोलन, सरकारको कार्यशैली, राष्ट्रियता लगायत विषयमा गम्भीर कुराकानी भयो ।
त्यसक्रममा ओलीले संघीयतामा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने कुरा गरे । पूर्व सांसदहरुले पनि पहिलो संविधानसभामा आफूहरूले मुलुकले धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानीमात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार पारेको स्मरण गराउँदै पाँच प्रदेश नै उपयुक्त हुने सुझाव दिए । ‘स्रोत साधनले पनि अहिलेकै संरचनामा पाँच प्रदेश उपयुक्त हुन्छ,’ पूर्वसांसदहरुले सुझाव दिँदै ओलीलाई भने ।
पूर्वसांसद अकलबहादुर बिष्टका अनुसार पाँच प्रदेशको सुझाव पूर्व सांसदहरुले दिएपछि ओलीले अब यसलाई अगाडि बढाउने आश्वासन दिएका थिए ।
यो खबर बाहिरिएपछि धेरैले ओलीले बल्ल जनताको भावना बुझेको भन्दै प्रशंसा गरेका छन् । पत्रकार शिवराज योगी भन्छन्- ‘पाँच प्रदेश बनाउ भन्ने मेरै लाइनमा आएछन् ओली, आखिर जनताको भावाना शक्तिशाली हुँदो रैछ ।’
यता केहीले भने पाँच प्रदेश बनाउने ओलीलाई प्रस्तावलाई परिवर्तनविरोधी भनेका छन् । नारायणप्रसाद सिन्धुलिया भन्छन्– ‘ओलीको प्रस्ताव– ५ विकास क्षेत्रलाई ५ प्रदेश बनाऔं । अनि त्यसपछि के राजतन्त्र फर्काऔं, अनि सामन्तका टाउका छप्क्याउन झापातिर लागौं ?’ ओलीको प्रस्तावको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आलोचना गरेका छन् ।




0 comments
तपाइको प्रतिक्रिया दिनुहोस