एमाले अध्यक्ष आचार्य: सात रोगका बिरुद्ध एक ज्यानको बिजयी
ठूला रोगहरुलाई जितेर नयाँ जीवन
बुलन्द, संवाददाता
अर्घाखाँची
मानिसलाई एउटै रोगले पनि ज्यान लिने गरेको छ । जटिल प्रकारका रोग लागि थुप्रै व्यक्तिले अकालमै मृत्युबरण गरेका छन् । ठूला रोग लागेपछि बाच्न सकिँदैन भन्ने मान्यता हाम्रो समाजमा विद्यमान छ । बलियो आत्मबल, प्राकृतिक चिकित्सा र खानपानमा ध्यान दिए ठूला रोगहरुसँग पनि सजिलै लड्न सकिँदो रहेछ भन्ने उदाहरण बन्नुभएको छ नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य । क्यान्सर, मृगौलामा खरावी, पायल्स, कलेजोको समस्या, मुटु, बाध र मधुमेहका रोगी आचार्यलाई अहिले कुनै रोग छैन । जटिल प्रकारका रोगले ग्रसित आचार्चको स्वास्थ्यमा आश्चर्यजनक तबरले सुधार आउला भनेर कसैले सोँचेको थिएन । अन्य रोगहरु केहि समय अघि नै निको पार्नुभएको भएपनि उहाँको शरिरमा रहेको छलाको क्यान्सर पनि पूर्ण रुपमा निको भएपछि उहाँको परिवार, आफन्त र शुभेच्छुकमा खुसीयाली छाएको छ ।
नवलपरासीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजरमा बसेर उहाँले क्यान्सर बाहेकका सबै रोग निको पार्नुभयो । प्राकृतिक चिकित्सा बिधिको उपचारबाट उहाँले मृगौलामा देखिएको गम्भीर प्रकारको समस्यालाई निको पारेपछि उहाँमा अन्य रोगसँग लड्ने आत्मबल बढ्यो । क्रमैसँग अन्य रोगहरुलाई निको पार्दै गएपछि क्यान्सरको उपचारमा केन्द्रीत बन्नुभयो । क्यान्सरको लागि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धि काठमाडौं हुँदै दिल्लीको मेदान्त हस्पिटल सम्म पुगेर उपचार गर्नुभयो । ‘मैले नयाँ जीवन पाएँ’ आचार्यले भन्नुभयो , ‘दृढ संकल्पका साथ प्राकृतिक चिकित्साबिधि अपनाउने हो भने म जस्ता धेरै रोगीले अकालमा ज्यान फाल्न पर्दैन्थ्यो ।’ उहाँले रोग लागिहाल्यो भनेर नअताल्लिई धैर्य र संयमता अपनाएर उपचार गरेमा मनोवैज्ञानिक असर कम पर्ने बताउनुभयो । ‘आत्मबल कमजोर बनाएको भए म बाच्ने थिइँन’ उहाँले थप्नुभयो , ‘रोगसँग लड्ने शक्ति भनेकै आत्मबल रहेछ ।’
उहाँले आफूलाई परेको समस्या र उपचार बिधिका बारेमा आफूजस्ता अन्य रोगीलाई चेतना जगाउने काममा लाग्ने बताउनुभएको छ ।
उहाँको सल्लाह अनुसार जिल्लाका अन्य बिरामीहरु प्राकृतिक चिकित्सा बिधिबाट उपचार गर्न रजर जान थालेका छन् । मंगलबार बिहान क्यान्सर रोग विशेषज्ञ डा सुसिल कुमार श्रेष्ठले आचार्यलाई क्यान्सर पूर्ण रुपमा निको भएको खबर सुनाएपछि आचार्यले घरपरिवार, आफन्त र शुभेच्छुकलाई आफू क्यान्सबाट मुक्त भएको भन्दै खुसी बाडनुभएको थियो । त्यसपछि सामाजिक संजाल र फोनबाट परिवारका सदस्य, आफन्त र शुभेच्छुकहरुले खुसी साटसाट गरिरहेका छन् । ‘आज जति म कहिल्यै पनि खुसी भएकी थिइँन’ चेतनारायणकी श्रीमती दिपाले भन्नुभयो , ‘उहाँलाई सधै स्वस्थ देख्न पाइयोस भनि कामना गरि बसेकी छु ।’ उहाँले श्रीमानको उपचारमा सहयोग गर्ने सम्पूर्ण डाक्टर, स्वास्थ्यलाभको कामना गर्ने आफन्त, सम्पूर्ण शुभेच्छुकलाई धन्यबाद समेत दिनुभयो ।
आचार्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार भएको खबर पाएपछि एमालेका नेता÷कार्यक्रता देखि अन्य जिल्लाबासी पनि उत्तिकै खुसी भएका छन् । आचार्य एमालेमा निष्ठावान र चट्टानी अडान भएका नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँले ०५४ साल देखि देखि ०६४ साल सम्म १० वर्ष र ०६९ देखि ०७३ सम्म ४ वर्ष गरि १४ वर्ष एमाले अर्घाखाँचीको नेतृत्व गरिसक्नुभएको छ ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस