युएईमा भएको सांस्कृतिक कार्यक्रममा नेपालीमाथि कुटपिट
साउन २३ – युएईमा भएको एक कार्यक्रममा उपस्थित नेपालीमाथि दुव्र्यवहार भएको छ । नेपाली समाज युएईको २६ औं वार्षिक उत्सव तथा कल्याणकारी कोष स्थापनाका लागि शुक्रबार भएको सांस्कृतिक कार्यक्रममा उपस्थित नेपालीहरु माथि दुव्र्यवहार भएको हो । दुवईमा काम गर्ने मजदुर बस्ने मुख्य स्थान अलकुजमा रहेको डलुस्को कम्पनीको मजदुर क्याम्पमा भएको कार्यक्रममा आयोजकले नै खटाएका व्यक्तिहरुले नेपाली माथि कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरेका हुन । टिकट काटेर गएकाहरु माथि नै दुव्र्यवहार भएको सहभागीहरुले बताएका छन् । समाजले ३० लाख रुपैयाँको कल्याणकारी कोष स्थापनाका लागि भन्दै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा युएईका लागि कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, कन्सुलर भेष बहादुर कार्की, एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीलगायतको उपस्थिती रहेको थियो । नेपालीमाथि गरिएको दुव्र्यवहार प्रति आयोजकले जवाफ दिनुपर्ने कार्यक्रममा सहभागी स्याङ्जाका राजकुमार सुनारले आग्रह गर्नुभएको छ । उहाँकै आग्रहमा प्रतिक्रिया जनाउँदै दुव्र्यवहारप्रति एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले दुःख व्यक्त गर्नुभयो । कार्यक्रम हेरिरहेका नेपालीलाई बिना कारण कपडामा छोपेर गलहत्याउदै हलबाट बाहिर निकालेर धम्क्याएको घटनाको छानविन हुनुपर्ने पीडितहरुले माग गरेका छन् । आयोजकले भने कार्यक्रममा भएको दुव्र्यवहारबारे कुनै प्रतिक्रिया जनाएको छैन । नेपाली समाज युएईका महासचिव मणी भुर्तेललाई सम्पर्क गर्दा घटनाबारे पछि जानकारी गराउने बताउनुभयो ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस