७ फिट लामो घरी, २ हजार कोसा केरा
हरिवन नगरपालिका–८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् ।
सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ । चुरे पर्वतीय क्षेत्रबाट ल्याएर रोपेको ४ वर्षपछि बोटबाट केरा पसाउन थालेको मोहनबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले पाकेपछि मोलभोग जातका केराको झैँ गुलियो स्वाद आउने बताउनुभयो । कोसाका पाटाहरु पूरा भई पुष्ट भएपछि र फलको आकार गोलो र रङ्ग हरियोबाट हल्का हरियो भएपछि घरी काट्ने गरिएको यस केराको जात के हो भन्ने केरा धनीलाई पनि जानकारी छैन । जिल्ला कृषि विकास कार्यालयका बागवानी प्राविधिक सहायक कैलाश साहले वसराई ड्वार्फ, हरिछाल, रोवष्टा, विलियम हाइब्रिड, मोलभोग, चिनी, चम्पाजस्ता केराका जातहरु तराईका फाँटमा हुर्कने भएपनि यो केराको जात आफूलाई पनि जानकारी नभएको बताउनुभयो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस