रटेर होइन, बुझेर पढ्दा ए प्लस आयो
प्रतिज्ञा केसी
एसएलसीमा कस्तो नतिजा आउला भन्ने निकै खुल्दुली लागिरहेको थियो । अलिअलि मनमा डर लागेकोले म घरबाट कतै पनि गएकी थिइन । दिउँसो एक बजे नतिजा आयो कि भनेर नेपाल टेलिकमलाई म्यासेज पनि पठाएँ, तर म्यासेजको रिप्लाई आएन । बेलुकीको साढे चार बजे साथीले खबर गरेपछि मैले फेरि म्यासेज पठाएँ ।
तर फेरि रिप्लाई नआएपछि मलाई झनै डर लाग्यो । मैले अत्तालिएर बाबालाई फोन गरे, बाबाले अफिसबाट हेर्नुभएछ, मेरो ए प्लस आएछ । यो वर्षको एसएलसीको नतिजा पहिलाको वर्षको भन्दा फरक रुपमा आएको छ । सधैं प्रतिशतमा आउने गरेको नतिजालाई ग्रेडमा हेर्दा कस्तो हुने हो भन्ने खुल्दुली थियो ।
तर विद्यालयले एसएलसी अगाडिका परिक्षाहरुको नतिजा ग्रेडिङ प्रणालीमा नै निकालेको थियो । त्यसैले नतिजा हेर्दा अलमल भएन । मेलै ए सम्म आउला भन्ने आशा गरेकी थिएँ । तर त्यो भन्दा बढि आएपछि खुसी नहुने कुरा नै भएन ।
एसएलसीमा राम्रो नतिजा ल्याउनको लागि सधैं रटेर पढ्नु पर्छ भन्ने छैन । रातभरी पढेर राम्रो ग्रेड आउँछ भन्ने पनि होइन । आफूलाई कुन समय उपयुक्त हुन्छ त्यहि समय मिलाएर पढ्नुपर्छ ।
मैले भने बेलुकी कहिल्यै पढिन, बेलुका ९ बजे नै सुतेर बिहान ४ वजे उठेर तयारी गरें । पढ्ने समयमा पुस्तक, कापीका नोट रटेर भन्दा पनि जति पढेको छ, त्यसलाई राम्ररी बुझेर पढ्दा नै राम्रो हुन्छ । किनकी रटेका नोटहरुलाई दुई दिनभन्दा धेरै सम्झन सकिंदैन । तर बुझेको कुरालाई भने सधैँ सम्झन सकिन्छ ।
कतिपय समस्यालाई बुझ्न साथीसँगको कम्बाइन्ड स्टडीको खाँचो पर्छ भने कति विषयलाई एक्लै बसेर पढ्दा नै उपयुक्त हुन्छ । मैले पनि केही विषय साथीसँग मिलेर पढें त कति विषय चाहिँ एक्लै बसेर पढें । पढ्दा स्वर निकालेर ठूलो आवाजमा पनि पढ्ने गरिन्छ तर लेखेर अभ्यास ग¥यो भने सम्झन सजिलो हुन्छ ।
हामीले एसएलसीको तयारी गर्दा विशेषगरी विज्ञान, गणित र ऐच्छिक गणितलाई बढि प्राथमिकता दिन्छौ । यसो गर्दा अन्य विषयको अध्ययन पनि छुटिरहेको हुन्छ । त्यसैले तयारीका बेलामा सबै विषयलाई समय दिनसके परीक्षा दिन गार्हो हुन्न । मैले एसएलसीको तयारी गर्दा माथि उल्लेखित विषयलाई दिनको दुई घण्टा र बाँकी अरु विषयलाई एक एक घण्टाको समय दिएको थिएँ ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको पढाईलाई तनाबका रुपमा लिनु हुँदैन । दिनमा कति पाना कण्ठ गरें भन्दा पनि कति कुरा बुझें भन्नेले महत्व राख्छ । रमाएर पढ्न सके पढेको कुरा पनि बुझिन्छ र परीक्षामा लेख्न पनि सकिन्छ ।
(भक्तपुर बालकोटको मेरी गोल्ड इंगलिस स्कूलकी छात्रा केसीसँगको कुराकानीमा आधारित)

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस