सन्धिखर्क नगरपालिका १२ डिभर्नामा जग्गा धनी दर्ता प्रमाण पुर्जा पाउदा स्थानीयतमा खुसियाली
बसन्त श्रेष्ठ ‘छापेली’
२४ बैशाख २०७५
सन्धिखर्क नगरपालिका १२ डिभर्नाका ९१ बर्षिय गौरीनारायण श्रेष्ठमा मंगलवार खुसीको सिमा रहेन । बिगत चार पाँच वर्ष अघि देखि डिजिटल नक्सा पाइन्छ भन्ने सुनेका श्रेष्ठले यति सजिलोसँग घर नजिकै जग्गा धनी प्रमाण पुर्जा पाउन खुसी हुनुभयो । ‘उ बेला नक्सा जलो, घरमा भएकोले काम गर्दैन भन्दा दुःख लाग्दथ्यो, अहिले एकदम खुसी छु, उहाँले भन्नुभयो ।

श्रेष्ठलाई मात्र नभई जग्गा धनी प्रमाण पुर्जा पाउदा सोही ठाउँकै फुर्सी कमेनीमा पनि उत्तिकै खुसी थिइन । ‘अब त जग्गा धितो राखेर पनि ऋण लिन पाइने भएको छ, अत्ति खुसी लागेको छ, उहाले भन्नुभयो । श्रेष्ठ र फुर्सी कमेनीमा मात्रै होइन आफ्नो जग्गा धनी प्रमाण पुर्जा पाउन सयौँ जना खुसी थिए ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडा नं. १२ मा मङगलवार एक कार्यक्रमको वीच जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण गरीएको हो । कार्यक्रम सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसालले स्थानीयलाई जग्गा धनी प्रमाण पुर्जा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । भुसालले लालपूर्जा वितरण गर्दै तत्कालिन सशस्त्र युद्धको समयमा जिल्लामा सदरमुकाम आक्रमण हुँदा लालपूर्जा जलेर नष्ट भई अर्घाखाँची जिल्ला नक्सा विहिन भएको कुरा स्मरण गर्दे अब नयाँ लालपुर्जाले आम नागरीकको काम,कारबाही, व्यापार, व्यवसाय सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले लालपुर्जा वितरणले जनतामा खुसी छाएको बताउनुभयो । उहाँले आफ्नो जग्गा जमिनको सहि सदुपयोग गरी आयआर्जनका कार्य गर्न जग्गा धनीहरुलाई आग्रह गर्नुभयो । उहाँले डिजिटल नक्साबाट गाउँटोलमा हुने धेरै खाले समस्याको निकाकरण भएको पनि बताउनुभयो ।

निमिक्त प्रमुख जिल्ला अधिकारी विष्णुराज बेलबासेले जिल्लामा लामो समयदेखि बसोवास गर्दै आएका मानिसहरु नयाँ जग्गाधनी पूर्जा नभएका कारण समस्यामा पर्दै आएको बताउँदै आजको यस लालपुर्जा वितरण कार्यले आम नागरीकमा खुसीयाली छाएको बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका १२ नं. वडाका अध्यक्ष नारायण खड्का, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ ‘छापेली’ लगायतले मन्तब्य राख्दै डिजिटल नक्सा बितरणबाट नयाँ युग प्रारम्भ भएको अनुभूती भएको बताउनुभयो ।

वडामा ८१८ जग्गा दर्ता निवेदन सङख्या रहेका मध्ये जम्मा ७ सय २९ जग्गा धनिहरुले आफ्नो जग्गा दर्ता गराएकोे विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम रानाले जानकारी दिनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, डिभिजन वन अधिकृत शिव प्रसाद शर्मा, प्रहरी निरीक्षक खिम बहादुर घम, मालपोत अधिकृत खिमानन्द आचार्य, जिल्ला समन्वय समिति सदस्य झम्मन कुमारी श्रेष्ठ, वडा सदस्यहरु नारायण बस्याल, बाबुराम बस्याल, हिमकला टमटा, नयाँ एफ एमका विक्रम पाण्डे समान्ता, नेकपाका मधुकुमार श्रेष्ठ, जीवन बस्याल, नेपाली कांग्रेसका वडा सभापति लिलाधर बस्याल, जनमोर्चाका गोपाल पाण्डे लगायतको आथित्यता रहेको थियो ।

वडा भित्र कृषि तर्फ कित्ता सङख्या ३ हजार ३ सय ७ , क्षेत्रफल ३ सय १७ हेक्टर रहेको छ । त्यस्तै ब्यबसायिक तर्फ कित्ता सङख्या ६ सय १२ , क्षेत्रफल ८५ हेक्टर रहेको र त्यस्तै सरकारी जग्गा तर्फ कित्ता सङख्या १ सय ५ , क्षेत्रफल २ सय ३६ हेक्टर जमिनको नाँप जाँच गरी लालपुर्जा तयार गरीएको ४ नं. नापी टोलीका प्रमुख दल बहादुर बोहोराले जानकारी दिए । लालपूर्जा वितरण कार्य जारी रहेको र यदि आज वितरण गरेर नसके भोलि पनि वितरण गर्ने बोहोराले बताउनुभयो ।

कार्यक्रम विशेष नापी कार्यलयका प्रमुख खिम बहादुर रानाको अध्यक्षता , ४ नं. नापी टोलीका प्रमुख दल बहादुर बोहोराको स्वागत मन्तब्य तथा ३ नं. नापी टोलीका प्रमुख राम उद्गार यादवको सञ्चालनमा सम्पन्न हो ।




0 comments
तपाइको प्रतिक्रिया दिनुहोस