बुलन्द साप्ताहिकको फाल्गुण १३ गतेको २७ औ अंक

बुलन्द साप्ताहिकको फाल्गुण १३ गतेको अंक
प्रदेश पाँचको पर्यटकीय गन्तब्य बन्दै सुपा देउराली
दर्शनार्थीको संख्यामा दोब्बरले वृद्धि,
यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान

प्रेमनारायण आचार्य
बुलन्द, अर्घाखाँची
प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्या बढेको छ । एक वर्षअघिको तुलनामा आजभोलि आउने दर्शनार्थीको संख्या दोब्बर वृद्धि भएको छ । विगतमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकोमा अहिले दैनिक हजारदेखि दुई हजारसम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितका अध्यक्ष पृतम थापाले बताउनुभयो । 

नेपाल मन्दिरै मन्दिरको देश भनेर चिनिन्छ । मन्दिरको संख्या पनि उल्लेख्य छ । मासिक करोडौं भेटी उठ्ने मन्दिर पनि नेपालमै छन् । मन्दिरमा उठेको भेटी कहाँ खर्च हुन्छ भन्ने खासै लेखाजोखा हुँदैन । जिल्लाको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटको सुपा देउराली पनि धेरै भेटी संकलन हुने मन्दिरमध्ये एक हो । यहाँ उठेको भेटीबाट विकास निर्माणका काम भइरहेका छन् ।

मन्दिरमा चढाएको भेटीबाट आदर्श मावि खाँचीकोटमा ६ जना र शान्ति निमावि सीतापुरमा चार शिक्षक राखिएका छन् । भेटीबाट संकलित रकममध्ये मासिक रूपमा आदर्श मावि र शान्ति निमाविलाई एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिनुभयो । यस्तै, सन्धिखर्कस्थित पाणिनी वेदविद्याश्रमका लागि वार्षिक एक लाख २० हजार रुपैयाँ उपलब्ध गराइने उहाँको भनाइ छ ।

‘विद्यालयसँगै अन्य विकास निर्माणका काममा सहयोग पु¥याउने गरेका छौं’, उहाँले भन्नुभयो, ‘खानेपानी लिप्टिङ्ग, मोटरबाटो निर्माणका काम भएका छन्।’ सचिव घिमिरेका अनुसार विभिन्न खाले जटिल रोगका बिरामीको उपचार खर्चमा समेत सहयोग पु¥याउने गरिएको छ । मन्दिरमा गत वर्ष ६० लाख आम्दानी भएको थियो । यस वर्ष ८० लाख पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

मन्दिर दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी र रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, बिहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् । विद्यालय चलाउन कठिन भएका बेला मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा धेरै सहज भएको आदर्श मावि खाँचीकोटका प्रधानाध्यापक डिल्लीराज थापाले बताउनुभयो । ‘मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय प्रावि नै रहने थियो’, उहाँले भन्नुभयो, ‘मन्दिरको सहयोगले विद्यालयलाई यो अवस्थासम्म ल्याउन पाउँदा हामी खुसी छौं।’

मन्दिर व्यवस्थापन समितिले उठेको रकम दुरुपयोग नगरी मन्दिर सञ्चालन विद्यालय सञ्चालन, विकास निर्माण, बिरामीको उपचारमा सहयोग गर्दै आएको बताएको छ । नेपालका अन्य ठूला मन्दिर जहाँ धेरै भेटी संकलन हुन्छ ती मन्दिरमा उठेको भेटी पनि यसैगरी सामाजिक काममा लगाउनुपर्ने संरक्षण समितिका उपाध्यक्ष गोवर्धन थापाले बताउनुभयो । सुपा देउराली मन्दिर वरिपरिको वातावरणलाई व्यवस्थित गरी यसको प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘मन्दिरको भेटी विद्यालय जस्तो सामाजिक संस्थालाई दिनु राम्रो कार्य हो’, उहाँले भन्नुभयो ।

सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीको भनाइ छ । सुपाको पूर्व रहेको भैंसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्ग निर्माण गर्न सके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बनाउन सकिने उहाँले बताउनुभयो । कडा चट्टानबीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेला सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । मन्दिर कजिकै एउटा लाहुरे टासिएको भिर भन्ने ठाउँ पनि छ । जसको अवलोकन गर्नेको पनि उत्तिकै भिडभाड हुने गर्दछ । 
बुलन्द साप्ताहिकको फाल्गुण १३ गतेको अंक









,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस