बुलन्द साप्ताहिकको असोज २९ गतेको अंक
झण्डै करोडको लगानीमा दुग्ध उद्योग स्थापना
गुणस्तरीय दुध उपलब्ध गराउने लक्ष्य
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
जिल्लामा हाल सम्मकै ठुलो लगानीमा दुग्ध उद्योग सञ्चालन गरिएको छ । झण्डै ८० लाखको लगानीमा दुग्ध उद्योग सञ्चालनमा आएका हो । जिल्लाको सन्धिखर्क नगरपालिका १ घोचेखोलामा १० वर्षका लागि जग्गा भाडामा लिएर दुग्ध उद्योगको स्थापना गरिएको हो । उद्योगको स्थापना भएसँगै अब दुग्ध उत्पादक कृषक तथा उपभोक्तालाई राहत मिल्ने विश्वास लिइएको छ । अर्घाखाँची दुग्ध उत्पादक तथा बिक्रीबितरण सहकारी संस्थाले दुग्ध उद्योग सञ्चालन गरेकाले अब उपभोक्ताले गुणस्तरीय दुध उपभोग गर्न पाउने अर्घाखाँची दुग्ध उद्योग संस्थाका अध्यक्ष चन्द्र प्रसाद बञ्जाडेले बताउनुभयो । ‘अर्घाखाँचीमा हाल सम्मकै बढि लगानीमा हामीले दुग्ध उद्योग सञ्चालन गरेका छौँ, अध्यक्ष बञ्जाडेले भन्नुभयो, ‘हामीले दुधलाई पोकामा राखेर गुणस्तरीय दुध मात्रै वितरण गर्न सुरु गरेका छौँ ।’
संस्थाले जिल्लाका बिभिन्न ठाउँका किसानबाट दुध संकलन गरी आफ्नो संकलन केन्द्रमा राख्ने र त्यसबाट दुग्धजन्य परिकार समेत बितरण गर्ने लक्ष्य राखिएको बञ्जाडेले बताउनुभयो । उद्योगले अब जिल्लामा आफ्नै साधन मार्फत घरघरमा पोका दुध उपलब्ध गराउने उहाँको भनाई छ । ‘अब उपभोक्ता दुधमा ठगिने समस्या रहदैन बञ्जाडेले भन्नुभयो, ‘उपभोक्तालाई पैसा तिरे गुणस्तरीय दुध खान पाइन्छ भन्ने बनाउने हामीले लक्ष्य राखेका छौँ ।
अर्घाखाँची दुग्ध उद्योगले असोज १ गते देखि बजारमा पोका दुधको बिक्री बितरण सुरु गरेको छ । उद्योगमा दुध चिस्याउने मेसिन चिलिंगभ्याट, पास्चराइजर देखि खुवा मेसिन, पनिर बनाउने मेसिन, आइसकृम सेपरेटर, प्याकेजिंग मेसिन समेत जडान गरीएको छ । केही समयमा आइस्कृम समेत उत्पादन गर्ने तयारीमा रहेको उद्योगको भनाई छ । उद्योगबाट दुग्ध जन्य परिकारहरु पाइने भन्दै पैसा तिरेर पनि जिल्लामा गुणस्तरीय दुध नपाएको गुनासो अब मेटिने संस्थाका सचिव राजेन्द्र आचार्यले बताउनुभयो । जिल्लामा दुधको उत्पादन धेरै भएर दुध खेर जान नदिनका लागि दुग्ध जन्य परिकार बनाउने तयारीमा रहेको आचार्यले बताउनुभयो । ‘घ्यू, पनिर, आइसत्र्रिmम, खुवा लगायतका दुग्धजन्य परिकार पनि उत्पादन गर्दैछौँ, उहाँले भन्नुभयो ।
उद्योगले दुग्ध उत्पादक कृषकलाई परार्श समेत दिनेछ । जिल्लामा दुग्ध उत्पादक कृषकलाई दाना बाहिरबाट ल्याउने समस्या समाधान गर्न जिल्लामै दाना उद्योग समेत सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष कुशल भुसालले बताउनुभयो । ‘अर्घाखाँची दुधमा आत्मनिर्भर बनेको छ, तर दाना भने बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ, भुसालले भन्नुभयो, ‘दाना उद्योग, दुग्ध सम्बन्धी परामर्श र उन्नत जातको घाँसको बिउँ र पशु बिमा सम्बन्धी परामर्श दिने व्यावस्था सञ्चालन गर्दै छौँ ।’ उद्योगले गाउँ–गाउँमा दुग्ध उत्पादक कृषक समुह बनाएर दुग्ध उत्पादन पेशालाई व्यवसायीक बनाइने लक्ष्य लिएको हो । उद्योगले किसानको दुधलाई किन्ने र बिक्री वितरणको व्यवस्था मिलाउदै आएको छ । जिल्लामा पछिल्लो समय व्यवसायीक रुपमा गाई तथा भैँसी पालन गरी दुध उत्पादन गर्ने कृषकको संख्या बढ्दै गएको छ ।
अर्घाखाँची दुग्ध उत्पादन केन्द्रको स्थापनाबाट किसान, उपभोक्ता तथा सञ्चालक सबैलाई फाइदा पुग्ने जिल्ला पशसेवा कार्यालयका प्रमुख डाक्टर लोकनाथ पाण्डेले जानकारी दिनुभयो । उक्त उद्योगबाट किसानले समेत आफुले उत्पादन भएको दुधले उचित मुल्य पाउनेमा ढुक्क हुन सबैलाई आग्रह समेत गर्नुभयो । दुग्ध उद्योगबाट दैनिक पाँचहजार लिटर सम्म दुध प्रोसेसिङ्ग गर्न सकिनेछ । यसबाट उत्पादिन दुध बजारमा बढिभए बिभिन्न दुग्ध जन्य सामग्री बनाउन सकिन्छ ।
जिल्लामा अहिले मागभन्दा वर्षमा २९ हजार ३ सय ६० मेट्रिक टन दुध उत्पादन हुने जिल्ला पशुसेवा कार्यलयमा बरिष्ठ पशुविकास अधिकृत डाक्टर लोकनाथ पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार बार्षिक रुपमा अर्घाखाँचीमा १७ हजार ९ सय ८५ मेट्रिक टन दुध आवश्यक पर्छ । ‘अहिले हामी दुधमा आत्मनिर्भर भएका छौँ, डा. पाण्डेले भन्नुभयो,‘ ११ हजार ३ सय ७५ मेट्रिक टन चाहिने भन्दा बढि दुध उत्पादन हुन्छ ।’ विश्व कृषि तथा खाद्य संगठनले गरेको सिफारिस अनुसार एक जना व्यक्तिलाई वर्षमा ९१ लिटर चाहिन्छ । पछिल्लो समय जिल्लामा दुधमा उल्लेख्य सुधार भएको पाण्डेले जानकारी गराउनुभयो । जिल्लामा बढि भएको दुध गुल्मी, पाल्पा, कपिलवस्तुमा पनि जाने गरेको छ ।
बुलन्द साप्ताहिकको असोज २९ गतेको अंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस