अर्घाखाँचीमा ५ थरी गिद्ध
डाइक्लोफेनेक औषधिको कारण संख्या घट्दै
प्रेमनारायण आचार्य
बुलन्द, अर्घाखाँची
तस्बीरमा स्( गर्ता खहरे,खहरे खोला गर्लाम सामुदायीक वन अर्घाको जंगलमा रहेका गिद्धहरु, तस्बिरः बुलन्द, अर्घाखाँची
लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची प्रकृतीको कुचीकार मानिने गिद्धको बासस्थानको रुपमा बिकसित हुन थालेको छ । जिल्लाका बिभिन्न स्थानमा रहेका जंगल तथा पहरामा ५ प्रजातीका गिद्ध पाइने गरेका छन् । गिद्ध प्रकृतिको कुचिकार हो । यसले मरेका जनावरलाई आहारा बनाउँछ।पारिस्थितिक प्रणलीलाई सन्तुलनमा राखी पर्यावरणलाई जोगाउन यसको निकै ठूलो योगदान रहन्छ । आफै शिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धले प्रदुषित र दुर्गन्धित वातवरणलाई स्वच्छ राखी महामारी, सरुवा रोगहरु लाग्नबाट जोगाउँछ । प्रकृतिलाई निकै आवश्यक पर्ने पंक्षीको रुपमा रहेको गिद्ध पछिल्लो समयमा लोप हुने अवस्थामा छ ।
हिमालमा बसोबास गर्ने र तराइमा बसोबास गर्ने गिद्धहरु समेत जिल्लाका बिभिन्न स्थानमा पाइने गरेका छन । जिल्लाका बिभिन्नसामुदायीक वनमा ५ थरी गिद्ध पाइने गरेको गिद्धसंरक्षण अभियानका बिज्ञ कृष्णप्रसाद भुसालले बताउनुभयो । उहाले डंगर गिद्ध, सुन गिद्ध, गोब्रे गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्ध गरि ५ प्रकारका गिद्ध पाइने बताउनु भयो ।
हिमालमा पाइने हिमाली गिद्ध र तराइमा पाइने डंगर गिद्धको बासस्थान जिल्लाका बिभिन्न स्थानका जंगल र पहरा बन्दै गएका छन । हिमाली र तराइ क्षेत्रमा पाइने गिद्धहरु समेत रैथाने रुपमा बस्ने भएकाले गिद्धको बासस्थानको लागि राम्रो वातावरण भएको ठाउँका रुपमा अर्घाखाँची बिकसित हुदै गइरहेको छ ।
पाँच थरी गिद्ध सधै भरि बस्ने रैथाने भए पनि समय समयमा सानो खैरे गिद्ध र राज गिद्ध पनि बसाइसराइ गरेर आउने गरेको नेपाल पंक्षी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण प्रसाद भुसालले बताउनु भयो । यहाँको उत्तरी भेग अर्घा किमडाँडा, धारापानी, ढाकावाङ्ग, गोखुङ्गा हंसपुर खनदह, खन, अर्घातोष, डिभर्ना बल्कोटका पहारा र ठूला रुखमा बासस्थान फेला परेको उहाँले जानकारी दिनु भयो । ‘बाँगी घेराका भिरमा तिन प्रजातिका गिद्धले बच्चा कोरल्छन्’, ‘एउटै पहारामा तिन जाति रहेको यो नेपालकै पहिलो अध्ययन हो ।’
डाइक्लोफेनेकले गिद्धको संख्या घट्दै
सुन्निएको र दुखेको निको पार्न पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधिको प्रयोग भएको जनावरको सिनो खाँदा ठूलो संख्यामा गिद्धहरु मरेको अनुसन्धानले देखाएको छ । गिद्धहरुको संख्या ९५ प्रतिशत भन्दा बढीले घटेर अतिसंकटापन्न अवस्थामा पुगेको छ । गिद्धको लोप भएमा प्राकृतिक चक्रनै परिबर्तन हुने भएकाले पनि यसको संरक्षण अति आवश्यक रहेको छ ।
लोपोन्कमुख पंक्षी डंगर गिद्धका पाचँ बच्चा पाँच बर्ष अघि अर्घाखाँचीबाट चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजन्न केन्द्रमा समेत लगेर राखिएको थियो । सन्धिखर्क नगरपालिकाको वडा नम्वर १० मा पर्ने गर्ताखोला खहरे र गर्लाम सामुदायीक वनबाट ति गिद्धका बच्चाहरु लगिएको गर्ताखोला खहरे गर्लाम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल बहादुर रानाभाटले बताउनु भयो । घरपालुवा पशु उपचारमा प्रयोग गरीने औषधी डाईक्लोफेनेकका कारण गिद्धहरुको संख्या ९५ प्रतिशत भन्दा बढीले घटेर अतिसंकटापन्न अवस्थामा पुगेकोले बचाँउन त्यहा लगिएको र उमेर पुगेपछी कृत्रिम प्रजनन् गराई बच्चा हुर्काइ डाइक्लोफेनेकमुक्त सुरक्षित प्राकृतिक वातावरणमा छोडीने छ ।
गिद्ध संरक्षण्का लागि वन संरक्षण गर्नु महत्वपूर्ण पक्ष रहेको बताउँदै गिद्ध संरक्षणले वातावरण र पर्यावरण जोगाउन निकै ठूलो भूमिका खेलेको हुँदा यसलाई बचाउन आफुहरुले पहल थाल्ने सन्धिखर्क वडा नम्वर १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले बताउनु भयो । गिद्धलाई डाईक्लोफेनेक रहित शुद्ध र नियमित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ताको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलिएको थियो । जटायु रेष्टुरेन्टमा रहेका पशुहरुको वृद्धाश्रममा किसानहरुबाट बृद्ध, अशक्त र बेकामी गाईवस्तुहरु संकलन गरी पालनपोषण गरिन्छ ।
नेपाल पंक्षी संरक्षण संघका अनुसार १२ वर्ष अघि सम्म नेपालमा पाँच लाख र भारतमा मात्र १६ करोड गिद्ध थिए । नेपालमा पाईने आठ प्रकारका गिद्ध मध्ये जिल्लामा ५ प्रकारका गिद्ध रहेका छन । गिद्धकोलागि राम्रो बासस्थान भएपनि गिद्ध संरक्षणका लागि अर्घाखाँचीको स्थानीय प्रशासन, राजनितिक दल, गैर सरकारी संस्था सबैले पहल गर्न जरुरी छ ।
बुलन्द राष्ट्रिय साप्ताहिकको भाद्र २५ गतेको अंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस