बुलन्द साप्ताहिकको भाद्र १८ गतेको अंक
यातायात क्षेत्रमा व्यापक प्रतिष्प्रर्धा
भाडाका सवारी साधनमा १ अर्ब २८ करोडको लगानी
अर्जुन भुसाल
बुलन्द, अर्घाखाँची
यातायात क्षेत्रको विकास र विस्तारले यात्रुहरुले सहज यात्रा गर्न थालेका छन् । नयाँ यातायात समितिहरुले सुविधा दिने क्रम पनि बढ्दै गएको छ । जिल्लामा पश्चिम नेपाल बस व्यवसायी समिति, देउराली यातायात व्यवसायी समिति, अर्घाखाँची ट्याक्सी व्यवसायी समिति र लंका यातायातले सेवा दिइरहेका छन् । पश्चिम नेपालले हाल १ सय ३० ओटा बसहरु सञ्चालनमा ल्याएको छ । देउराली यातायातका १ सय १३ ओटा जीप र ३२ ओटा हाइस सञ्चालनमा छन् । ट्याक्सी व्यवसायी समितिले ९० ओटा ट्याक्सी सञ्चानमा ल्याएको छ भने लंका यातायातले दुइ ओटा स्कारपियो सञ्चालन गरेको छ । राम्रो आम्दानी हुने भएपछि यातयात क्षेत्रमा लगानी गर्नेहरु बढेका छन् । समितिहरुले स्तरीय सेवाका दिन लागि एकअर्कामा प्रतिस्पर्धा गर्न थालेपछि यात्रुहरुले राहत महसुस गर्न थालेका छन् । प्रतिस्पर्धाले यातायात क्षेत्रमा व्याप्त रहेको सिण्डिकेट पनि तोडिन थालेको छ ।
केहि वर्ष अघि सम्म निकै कष्टका साथ यात्रा गर्नु पर्ने स्थिति थियो । लामो दुरीको यात्रा गर्न सकस नै हुन्थ्यो । धेरै समिति भएपछि गाडीहरु प्रयाप्त हुन थालेका छन् । पश्चिम नेपाल वस व्यवसायी समितिले बिहान एउटा र साँझ दुई ओटा गरि तिन ओटा बस दैनिक काठमाडौंका लागि छुटाउने गरेको छ । सोमबार, बुधबार र शुत्रबार दिल्लीका लागि समेत बस छुट्ने गरेको छ । देउराली यातयातले बिहान दुइ ओटा हाइस काठमाडौंका लागि छुटाउने गरेको छ । दुबै समितिका गाडी घण्टा– घण्टामा बुटवल ओहोरदोहोर गर्छन । देउराली यातायातका जीपले ग्रामीण भेगमा बाह्रैमास सेवा दिइरहेका छन् । हिउँदको समयमा पश्चिम नेपालका बसहरुले पनि ग्रामिण भेगमा सेवा दिन्छन् । देउरालीका जीपहरु वर्षादको समयमा पनि सञ्चालनमा आउँछन् ।
पश्चिम नेपाल बस व्यवसायी समिति अर्घाखाँचीका प्रमुख कमल भट्टराईले यात्रुहरुको सहज यात्रामा विशेष ध्यान पु¥याएको बताउनुुभयो । ‘चाडपर्वमा गाडी थप गरेर यात्रुलाई सहज सेवा दिने योजना बनाएका छौं’ उहाँले भन्नुुभयोे, ‘यात्रुको चाहना र समयको माग बमोजिम गाडीहरु थपघट गर्दै जानेछौं ।’ उहाँले जिल्लाबाट सञ्चालनमा आएका बसहरुमा करिव ५२ करोडको लगानी रहेको बताउनुुभयो । देउराली यातयात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र खड्काले समितिले छिट्टै १० वटा डिलक्स बस सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुुभयो । ‘यात्रुहरुको मागलाई ध्यानमा राखेर बस सञ्चालन गर्न लागेका हौं’ खड्काले भन्नुुभयो, ‘भदौ १५ गतेबाट इन्ट्री खोल्दै छौं ।’ उहाँले देउराली यातयातले ५९ करोड ५० लाखका गाडी सञ्चालनमा ल्याएकोे बताउनुुभयो ।
जिल्लामा ट्याक्सी सञ्चालनमा आएपछि यात्रुहरुले निकै फाइदा लिइरहेका छन् । अधिकांश सडकहरु ग्राभेल भएकाले ट्याक्सी सञ्चालन गर्न सहज भएको हो । ट्याक्सीहरु रिर्जवमा गुड्ने गरेका छन् । आरामदायी यात्रा गर्न पाउने भएपछि ट्याक्सीको यात्रा धेरैको रोजाइ बनेको छ । ट्याक्सी व्यवसायी समितिका अध्यक्ष महेन्द्र कुमार भुसालले थोरै ट्याक्सीबाट समितिको थालनी गरेको भएपनि अहिले धेरै ट्याक्सीहरु समितिमा दर्ता भएर सञ्चालनमा आइरहेका बताउनुुभयो । ‘१० ओटा ट्याक्सीबाट समिति सञ्चालन गरेका हौं’ उहाँले भन्नुुभयोे, ‘अहिले ९० ट्याक्सी पुगेका छन् ।’ उहाँका अनुसार समितिमा आवद्ध ट्याक्सीहरुमा करिव १६ करोड २० लाखको लगानी छ ।
जिल्लामा पछिल्लो समयमा लंका यातायातले पनि स्कारपियो मार्फत यात्रुहरुलाई सेवा दिइरहेको छ । लंकाले अहिले बुटवलका लागि दैनिक दुइवटा स्कारपियो छुटाएको छ । लंका यातयातका कृष्ण भुसालले गाडी थपि काठमाडौं र बुटवलका लागि पनि थप सेवा प्रदान गर्ने बताउनुुभयो । उहाँले ९० लाखको लगानीमा गाडीहरु सञ्चालन गरेको जानकारी दिनुुभयो । जिल्लामा बेला बेलामा सवारीहरु दुर्घटनामा पर्ने गरेका छन् । पश्चिम नेपालका बस र देउराली यातयातका जीप दुर्घटना हुँदा धेरै मानिसको ज्यान गएको छ । मानिसको ज्यानै जाने ढङ्गले देउरालीका हाइस र ट्याक्सी दुर्घटनामा परेका छैनन् । पुराना गाडीहरुलाई विस्तापित गरेर नयाँ गाडीहरुको प्रयोगमा जोड दिए दुर्घटना कम हुन सक्ने देखिन्छ । समितिहरुका अनुसार जिल्लामा भाडाका सवारी साधनहरुमा करिव १ अर्ब २८ करोड लगानी छ ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस