प्रचण्ड प्रधानमन्त्री भएलगत्तै रुक्माङगत कटवालको कडा टिप्पणी, माफी माग्न सुझाव
पूर्व प्रधानसेनापति रुक्माङगत कटवालले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी माग्नुपर्ने बताएका छन् ।
न्यूज ट्वान्टीफोर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘रियल फेस’मा पत्रकार प्रेम बानियाँसँग कुरा गर्दै पूर्व प्रधानसेनापति कटवालले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पद तथा गोपनियताको सपथ खाएकै दिन माफी माग्नुपर्ने बताएका हुन् ।
प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध ठूलो ‘पाप’ हो भन्दै उनले भने- ‘उहाँ(प्रचण्ड)हरुले २०५२ सालमा प्रजातान्त्रिक पद्धती, निर्वाचित सरकारविरुद्ध र संसदीय व्यवस्थाविरुद्ध सुरु गरेको विद्रोहमा १७ हजार मानिसले अनाहकमा ज्यान गुमाए । हजारौं वेपत्ता भए, अंगभंग भए । भौतिक संरचनाहरु भत्काए । यसले नेपाललाई ५० औं वर्ष पछि पारेको छ । समाजमा मिलनविन्दु खोज्नुको सट्टा समाजविपरित भएर समाजलाई विभिन्न रुपबाट भत्काउने कामहरु भए । त्यसप्रति उहाँ (प्रचण्ड)ले जनताको सामु फेरि दोस्रोपटक प्रधानमन्त्री भएको अवस्थामा भित्र हृदयदेखि नै साँच्चै नै माफी माग्नुभयो भने नेपाली जनता साह्रै दयालु छन् । ठूलो मनकारी छन् । उनीहरुले माफ दिनसक्छन् । त्यसबाट पखालिन धेरै मद्दत मिल्छ ।’
पूर्व प्रधानसेनापति कटवालले आफूलाई तत्कालिन समयमा प्रचण्डले संविधानविपरित हटाउन खोजेको र त्यसको रियलाइज समेत प्रचण्ड गरिसकेको खुलासा गरे । ‘उहाँ (प्रचण्ड)ले मलाई धेरै ठाउँमा गल्ती भयो । धेरै दबाब आएपछि हटाउने निर्णय लिएको हुँ भन्नुभएको छ । उहाँले गल्ती महसुस गरिसक्नुभएको छ,’ कटवालले भने- ‘तर, त्यति बेला संविधान मिच्ने काम भएकै हो ।’
९ महिने कार्यकाल तोकिएका प्रचण्डलाई जनताले मन राख्ने उदाहरणीय काम गर्न सुझाव दिँदै कटवालले आफू र आम नेपाली जनताले फेरिएको प्रचण्ड हेर्न चाँहेको बताए । विगतमा प्रचण्डको घमण्डतर्फ संकेत गर्दै उनले भने- ‘जनताको मन जित्ने काम गर्नेछन् भन्ने लाग्छ । किनकि यो ८ वर्षमा उहाँले धेरै अनुभव हासिल गर्नुभएको छ । अनुभवी हुनुहुन्छ ।’
यसअघि २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले कटवाललाई पदबाट हटाउन खोजेका थिए । तर, संविधान मिचिएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।
हेर्नुस् भिडियो अन्तर्वार्ताः


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस