नौं वर्षपछि नेविसंघको महाधिवेशन, सीसी क्यामेराबाट निगरानी
२३ साउन, काठमाडौं । नेपाल विद्यार्थीसंघको ११ औं महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । २५ साउन सम्म चल्ने महाधिवेशनको कांग्रेस सभापति शेरबाहदुर देउवाले १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेविसंघमा एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री र निर्वाचित एक कोषध्यक्षसहित केन्द्रीय कार्यसमिति एक सय ५१ सदस्यीय हुने छ ।
दश वर्षपछि महाधिवेशनमा उत्रिएको नेविसंघमा चुनावी सरगर्मी छाएको छ । अाज बिहानबाट महाधिवेशन स्थलमा सवारी साधान प्रवेशमा राेक लगाइएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।
लामो समय अधिवेशन नभएका कारण अध्यक्ष लगायतका पदहरुमा उमेदवारको संख्या धेरैछ । पार्टी गुट र नेताका नजिकका पनि एक भन्दा बढी भएकाले मिलाउन समस्या देखिएको छ ।
माउपर्टीका सभापति शेरबहादुर देउवाको पक्षबाट जितजंग बस्नेत र नैनसिंह महर प्रमुख दाबेदार रहेका छन् । उनीहरुसँगै रत्न कार्की, सरोज थापा र राजीव ढुंगानाले समेत अध्यक्षेको दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
नेता रामचन्द्र पौडेलको तर्फबाट मनोजमणि आचार्य र दीपक भट्टराई प्रमुख दावेदार रहेका छन् । सोही पक्षमा आनन्द त्रिपाठी र नीलकण्ठ रिजालले पनि दाबी प्रस्तुत गरेका छन् । त्यस्तै कुन्दनराज काफ्ले र शुभराम बस्नेतपनि अध्यक्षको दाबेदार हुन् ।
सीसी क्यामेराबाट निगरानी
महाधिवेशन स्थलमा सुरक्षा चुनौति रहेको भन्दै नेपाल प्रहरीले सीसी क्यामेराबाट निगरानी बढाएको छ । चार ठाउँमा सीसीक्यामेर जडान गरिएको छ । हलको बाहिर धेरै गतिविधि हुने स्थानमा सीसीक्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ ।
महाधिवेशनमा १ करोड ७८ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा लाग्ने सबैंखर्च पार्टीले नै वेहोर्ने भएकाले चन्दा नउठाएको नेविसंघले जनाएको छ ।
२०६४ सालमा प्रदीप पौडेल अध्यक्षमा निर्वाचित भएयता महाधिवेशन हुन सकेको थिएन । ६ महिनाभित्र महाधिवेशन गर्न २१ माघ २०६८ मा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले रञ्जित कर्णलाई अध्यक्ष बनाएर जिम्मेवारी दिएका थिए । तर, आठौं प्रयासमा बल्ल महाधिवेशन हुने स्थिति बनेको हो ।
काठमाडौं, साउन २३ – नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ नेवि सङ्घको ११ आँै महाधिवेशन नौ वर्षपछि आइतबारदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारसम्म चल्ने महाधिवेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटनसत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत शीर्ष नेताले सम्बोधन गर्नुहुने नेविसंघले जनाएको छ । महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी झण्डै ३४ सय प्रतिनिधिले भाग लिँदैछन् ।
महाधिवेशनमा भाग लिन धेरै प्रतिनिधि काठमाडौं आइसकेको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । सात पटक स्थगित भएको महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्यौलका बिच महाधिवेशन हुने भएपछि नेविसङ्घमा राजनीति गर्दै आएका नेता तथा कार्यकर्तामा नयाँ उत्साह थपिएको छ । महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहेको अवस्थामा प्रतिनिधिको विवाद भने अझै मिल्न सकेको छैन ।
प्रक्रिया विपरीत भागबण्डाका आधारमा प्रतिनिधिको छनौट भएको भन्दै विद्यार्थीको एउटा समूह अनसनमा छ । पार्टी नेतृत्वले पटकपटक छलफल गरेपनि विवाद मिलिसकेको छैन । नेविसंघमा अध्यक्षसहित पदाधिकारीका लागि मात्रै सयभन्दा धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
सङ्घको अध्यक्षमा अहिलेसम्म नैनसिंह महर, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू घोषणा गर्ने क्रममा रहेको बताइएको छ ।
त्यस्तै महामन्त्री पदमा नेविसङ्घ नेताहरू मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, मोतीलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, मित्र भट्टराईलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । दुवै कांग्रेस एकीकरणपछि हुन लागेको महाधिवेशनमा पदाधिकारी र सदस्यमा झण्डै पाँच सय उम्मेदवारी पर्ने देखिन्छ ।
नेविसङ्घमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्यरूपमा लागु भएको छ । कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्काे पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुनेछ । अब सङ्घको केन्द्रीय समिति एक सय ५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक/एकजना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहनेछन् ।
त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक/एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ । त्यस्तै एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।
सङ्घको दुई वर्षभित्र अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ । एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि अहिले रहेको केन्द्रीय समितिको पद पनि स्वतः खारेज हुनेछ ।
विसं २०२७ वैशाख ६ गते स्थापना भएको नेविसङ्घमा अहिलेसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, नारायणप्रकाश साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्ण अध्यक्ष भइसकेका छन् ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस