आवाजबाट बिजुली निकाल्ने ‘बिजुली मसिन’ प्रदर्शन हुँदै

bijuli machine poster













काठमाडौँ । विज्ञान र प्रविधिलाई प्रमुख विषयवस्तु बनाएर तयार पारिएको पहिलो नेपाली चलचित्र ‘बिजुलीमसिन’ आगामी भदौ ३१ गते प्रदर्शन हुने भएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा ‘साइन्स फिक्सन’मा आधारित उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गरियो । चलचित्रमा दुई युवकले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेको देखाइएको छ । प्रायः सबै नयाँ कलाकारलाई समेटिएको चलचित्रमा अभिनेता राजेश हमालको छुट्टै किसिमको अभिनय रहेको बताइएको छ ।
यसमा अभिषेक सुवेदी र जीवन अधिकारीको मुख्य भूमिका रहेको छ । झन्डै रु एक करोड लगानी चलचित्र निर्माण गरिएको बताइन्छ । नवीन अवालको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका निर्माता सबै नयाँ अनुहारका छन् जसमा ऋषब आचार्य, सञ्जीव न्यौपाने, दीपेन बस्नेत र सन्तोष लामिछाने रहेका छन् ।


कार्यक्रममा पूर्वसूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले देशमा विद्युत् कटौतीका समस्या रहेका बेला वैकल्पिक ऊर्जाको खोजी गर्दै चलचित्र बन्नु सकारात्मक सङ्केत रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले पछिल्लो केही समयदेखि नेपाली चलचित्रले बाटो फेरेको बताउँदै नयाँ कथा र नयाँ प्रयोगसहित बनेको उक्त चलचित्रले युवालाई थप ऊर्जा दिने आशा व्यक्त गर्नुभयो । वैकल्पिक ऊर्जाको खोजी नै मुख्य विषयवस्तु भएको र यसमा स्वस्थ मनोरञ्जनसमेत समेटिएको चलचित्रका निर्देशक अवालले बताउनुभयो । उहाँले आफ्नो चलचित्र हेरेपछि नेपाली युवाले स्वदेशमै केही गर्ने जाँगर चलाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली चलचित्रकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगर, धावक सञ्जय पण्डितलगायतलाई सम्मान गरिएको थियो । रासस

, , , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस