आधिकारिक ट्रेड युनियन चुनाव : ६२ जिल्लाको मतपरिणाम आयो, बेलुकासम्म अन्तिम नतिजा


काठमाडौं, जेठ २० – आधिकारिक ट्रेड युनियनको नेतृत्व चयनका लागि भएको चुनावको ६२ जिल्लामा मतपरिणाम आएको छ ।


काठमाडौंका ४२ वटा विभागीय स्तरको नतिजा पनि आइसकेको र बाँकी १० जिल्लाको पनि बिहीबार बेलुकासम्म नतिजा आइसक्ने प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
बुधबार भएको चुनावमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन धेरै ठाउँमा विजयी भएको छ । चुनावका लागि ७५ जिल्ला र ४२ विभागमा एक सय २९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।
कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र त्यसभन्दा तल्लो तहका ५५ हजार ३ सय २९ निजामती कर्मचारीले मतदानमा भाग लिएका थिए ।
सबै जिल्लाको मतपरिणाम आएपछि बेलुकासम्ममा विजेता घोषणा गरिने निर्वाचन अधिकृत तिमिल्सिनाले जानकारी दिनुभयो । चुनावमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले भाग लिएका छन् ।
निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ ।
अर्घाखाँचीमा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन निर्वाचनमा नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी युनियन (संघ) पहिलो भएको छ । युनियनले १ सय ९८ मत लिएर पहिलो भएको हो । एमाले÷राष्ट्रिय जनमोर्चा निकट नेपाल निजामति कर्मचारी संगठनले १ सय १० मत लिएर दोस्रो भएको छ । नेकपा माओवादी एकता केन्द्र निकट  नेपाल राष्ट्रिय कर्मचारी संगठन  ४६ मतका साथ तेस्रो भएको छ । नेपाल मधेसी निजामति कर्मचारी मञ्च १६ मत लिएको छ  ।

 वैद्य माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनले एक मत मात्र प्राप्त गरेको छ । 

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस