भैरव नाँच संरक्षण समितिको डिभर्नाको नाँच यसवर्षको लागि बिधिवत रुपमा समापन (इतिहास र भिडियो सहित)


बसन्त श्रेष्ठ ‘छापेली’
डिभर्ना अर्घाखाँची
 १७ कार्तिक २०७५
Image may contain: 6 people, people standing
भैरव नाँच संरक्षण समिति डिभर्नाद्धारा निकालिएको भैरव नाँचको शनिवार एक कार्यक्रमका बिच बिधिवत रुपमा समापन गरिएको छ । नेवार समुदायको मौलिक नाँचको रुपमा रहेको भैरव नाँचको राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्वलको प्रमुख आथित्यतामा समापन गरिएको हो ।  समापन समारोहमा मन्तब्य राख्दै राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले नेवार समुदायको मौलिक भैरव नाँचले समाजमा आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । खड्काले परम्परागत यस नाँचले सस्कृतिको जगेर्ना गर्दै सामाजिक विकासमा पनि टेवा पु¥याएको भन्दै आगामी दिनमा भैरव नाँचको संरक्षणको निम्ती सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई संस्कृतिको धनि बनाउन भैरव नाँच संरक्षण समिति डिभर्नाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । भुसालले नगरपालिकाले कला संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा नगरभित्रका बिभिन्न क्षेत्रलाई विकास गर्दै जाने बताउनुभयो । 
पत्रकार महासंघका उपाध्यक्ष गणेष खनाले नेवार समुुदायमा प्रचलित भैरव नाँचले जातिय अस्तित्वको संरक्षण संस्थागत गरेको भन्दै भैरव नाँचलाई सबै समुदायको साझा सम्पत्तीको रुपमा विकास गर्नुपर्ने बताउनुुभयो । कार्यक्रममा पत्रकार महासंघ पाँच नम्बर प्रदेश सदस्य प्रेम नारायण आचार्य, प्रेश चौतारीका कार्यबाहक अध्यक्ष हृदयकुमार भुसाल, प्रेश युनियनका सभापति बिरेन्द्र केसी, पत्रकारबिक्रम पाण्ढडे लगायतको आथित्यता रहेको थियो । 
यस्तो छ भैरव नाँचको इतिहास 

Image may contain: 5 people, people sitting and indoor
Image may contain: 5 people, including Basanta Shrestha and Prakash Shrestha, people standing
भैरव नाँच नेवार समुदायको मौलिक नाँच हो । जसमा कालो, रातो, सेतो भैरव र डंकेनीको रुपमा नाच्ने चलन छ । कालो भैरवलाई यस नाँचमा काल भैरवको प्रतिक, रातो भैरवलाई देबी र सेतोलाई गणेषको प्रतिकको रुपमा लिइने चलन छ । भैरव नाँचमा ७ ताल हुन्छ । जसको छैठौँ तालमा धामीहरुलाई स्वतह देवता उत्रने हुँदा काम्ने र नाच्ने गर्दछन् । यो नाँचमा अन्य बिभिन्न नाँचहरु पनि देखाइने चलन छ । भैरव नाँचको समापन पछि भुच्यांङ्ग, टाकुनडोली अर्थात लाठी नाँच, घोडा नाँच, चरा नाँच, भालु नाच तथा ढिसपाकु अर्थात लाटा लाटीको प्रस्तुती पनि क्रमैसँग देखाइन्छ । भैरव नाँचमै लिला नाँच, लाहुरे लाहुरेनी तथा अन्य बिभिन्न हास्य ब्यंग प्रस्तुती समेत देखाइन्छ । 

युवा पुस्ताको आर्कषण बढ्दो


भैरव नाँच नेवार समुदायको परम्परागत नाँच हो । यसमा नेवार जातिको पनि बुढा पाकाहरु हुँदै पुस्तान्तरण भएको देख्न पाइन्छ । तर पछिल्लो समयमा भने यो नाँचमा नयाँ युवा पुस्ताको चासो बढेको भैरव संरक्षण समितिका संरक्षक गौरी नारायण श्रेष्ठ बताउनुुहुुन्छ । युवाहरुले बाध्य बाधन तथा नाँचमा समेत चासो देखाएका कारण यसको संरक्षणमा महत्वपूर्ण सहयोग मिलेको बाध्यबाधक टोपलाल श्रेष्ठको भनाई छ । युवाहरुमा यस नाँचको संरक्षणका लागि आएको सोचले आगामी दिनमा समेत महत्वपूर्ण भूमिका खेल्ने कालो भैरव नाँच्ने केशव श्रेष्ठले बताउनुहुन्छ । 
समाजिक काममा लगाउँदै  भैरव भेटी
भैरव नाँचबाट उठेको रकम सामाजिक काममा लगाउँदै आएको समितिको भनाई छ । वितगका बर्षहरुमा पनि समितिले गाउँमा कुल कुलेशो निर्माण, पँधेरो निर्माण र शतल निर्माणमा रकम खर्च गरेको संस्थाका अध्यक्ष धनप्रसाद श्रेष्ठले बताउनुभयो । आगामी दिनमा पनि उत्पादनशील काममा उत्त रकम लगाउने समितिका प्रकाश श्रेष्ठले बताउनुभयो । 

साझा सस्कृति बन्दै भैरव नाँच
Image may contain: 2 people, people standing
नेवार समुदायको मौलिक नाँच क्रमश साझा सस्कृतिको रुपमा विकास हुन थालेको छ । नेवार समुदाका युवा तथा बृद्ध बृद्धाहरुले मादल बजाउने र नाँच्ने भएपनि यसमा यस नाँचमा कर्नल सनाई भने परियार समुदायले नै बजाउने गर्दछन । यसले समाजमा रहेका सबै समुदायको बीचमा आपसी सद्भाव कायम गर्न सघाउ पुगेको श्याम कृष्ण श्रेष्ठले बताउनुहुन्छ । त्यति मात्र नभई सामाजिक काममा भैरवमा उठेको भेटी खर्चिदै आएकोले भैरव नाँच समुदायको साझा सस्कृतिको रुपमा विकास भएको प्रकाश परियारको भनाई छ ।
भिडियो 



नोटः माथिको लेख अनुमति बिना कपि गरे प्रतिलिपी ऐन अनुसार कारबारी हुनेछ ।  

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस