बुलन्द साप्ताहिकको माघ २१ गतेको अंक

संगितमय बन्यो सन्धिखर्क,
अर्घाखाँची महोत्सबमा उर्लीयो जनसागर
तीन दिन थपियो महोत्सव
शोभाखर पन्थी
बुलन्द, अर्घाखाँची
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क संगितमय भएको छ । एक पछि अर्को गर्दै मुलुकका ख्याती प्राप्त कलाकारहरुले सन्धिखर्क आई गित तथा नृत्य प्रस्तुत गर्नथालेपछि जिल्लाको सांस्कृतिक माहौल एकाएक बढेको हो । अर्घाखाँची उद्योग बाणिज्य संघको संरक्षकत्व एवं मानव संसाधन विकास तथा बातावरण मञ्च नेपालको आयोजनामा आयोजित तेश्रो अर्घाखाँची महोत्सबमा ठूलो संख्यामा जनलहर उर्लीएको छ । मुलुकका चर्चित कलाकारहरुले आफ्नो सांस्कृतिककला प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन् । 

माघ १० गते देखि सन्धिखर्क १ को कँुडुले फाँटमा आयोजित औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार मेला सकिनै लाग्दा दिन प्रतिदिन दर्शकहरुको घँुइचो बढ्दै गएको छ । मेलामा एकै ठाउँमा आफुलाई मनपरेको सामान बुटवल, काठमाण्डौकै दररेटमा रोजी रोजी किन्न पाईने र सांस्कृतिक माहौलमा रमाउन पाएपछि बिकट र निक्कै टाढा टाढा ग्रामिण क्षेत्रका बासीन्दाहरुको समेत अहिले सन्धिखर्कमा निक्कै बाक्लो उपस्थिति देखिएको छ । मेलामा अर्घाखाँचीका अतिरिक्त छिमेकी जिल्ला गुल्मी, प्यूठान, पाल्पा, कपिलबस्तु सम्मका दर्शकहरु आउने गरेका छन् । मेलाले सन्धिखर्कका होटलहरु मान्छेले खचाखच भरीएको होटल व्यबसायीहरु बताउँछन् । होटल लजका प्रत्येक कोठाहरु भाडामा गएका छन् भने खाना र नास्ता खानेहरुको भिडभाड थाम्न पनि होटलहरुलाई धौ धौ भएको छ । मेला सुरु भए सँगै जिल्लामा चल्ने सबारी साधनमा यात्रुहरुको भिडभाड नै देख्न पाइन्छ । किराना पसल, फलफूल तथा तरकारी लगायतका पसलमा पनि राम्रै व्यापार भएको व्यापारीहरुको भनाई छ । जिल्लामा उत्पादित मह, घिउ, कुराउनी, छुर्पि, पनिर, च्याउ, कफि, अदुवा, हलेतो, कागती, अमिलो, मौसम, अमला कोदो तथा फापरको पिठो लगायत घरेलु तथा कुटीर उद्योग बाट उत्पादित बस्तुले मेलामा राखिएको छ । 

स्थानीय सामाग्रीका अतिरिक्त मेलामा ठूलो परिणाममा बाहिरबाट आयातित फेन्सी र श्रीङ्गारका सामानको बिक्रि हुनेगरेको छ । बजारमा पाईने भन्दा निक्कै सस्तो मूल्यमा सामान पाएपछि स्थानीय बासिन्दाले हजारौं खर्चगरेर आबस्यकता भन्दा बढी सामान खरीद गर्ने गरेका छन् । बलान्केट, ज्याकेट, हाईनेक, जुत्ता, चप्पल मेलामा सबै भन्दा बढी बिक्रिहुने गरेको छ । स्थानीय बासीन्दाले सामानको गुणस्तरलाई ख्यालनै नगरी अरुको देखासिकी र लहैलहमा लागेर ठूलोपरीणामा सामान खरीद गरेका छन् । मेलाले सन्धिखर्क तथा गाडी चढ्ने र झर्ने ठाउँमा मान्छेको ठूलै भिडभाड देखिए पनि जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा पुरानो बजार चुत्राबेसी भने निक्कै सुनसान भएको छ । मेलामा कम गुणस्तरीय सामानको बिक्रिहुने तथा बेचेको सामान प्रति बिक्रेता जवाफदेही हुनु नपर्ने भएकाले सस्तो मूल्यमा सामान पाएपनि उपभोक्ताहरु ठगिएको जिल्लाका व्यापारीहरुको भनाई छ ।

कार्यक्रममा मूलुककै चर्चित कलाकारहरु बद्रि पंगेनी, रामजी खाँड, कमल सौराग, ज्योती मगर, रमेशराज भट्टराई, पूर्णकला बि.सी., शोभा त्रिपाठी, चन्दा दाहाल, मधुसुदन बन्जाडे, जीबन परयिार, जमुना सनम, सितल के.सी., मन्जु गुरुङ्ग, सुनिता परियार, मोहित मुनाल, महन नेपाली, शन्तोष शर्मा, मैना रेश्मी, लगायतले दर्शकहरु लाई निक्कै मनोरञ्जन प्रदान  गरेका छन् । कलाकारहरुले दर्शकहरुलाई कतिबेला सयौको संख्यामा छमछमी नचाउँथे, कुनैसमय प्रहरीलाई भिडथाम्न हम्मे हम्मे हुनेगरी हुटीङगर्न प्रेरीत गर्थे, उतीनै बेला उनीहरु पेट मिची मिची हसाउँथे भने कुनै समय कलाकारले गित गाउँदा दर्शकहरु धुरु धुरु रुएको देख्न पाईथ्यो । तिनै कलाकारले कुनै बेला दर्शकलाई लाजले मुख छोप्ने परिस्थितीको समेत सिर्जना गरीदिन्थे ।  कलाकारको प्रमुख उद्देश्य जसरी पनि  दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुन्छ तर मनोरञ्जनको नाममा केही कलाकार हरुले गर्ने अङ्गप्रदर्शन आम जन समुदायको बीचमा प्रकट गर्ने अभिव्यक्तिलाई भने स्थानीय बासीन्दाले नकारात्मक टिप्पणी गरेका छन् । गायक बद्री पंगेनीले कार्यक्रम हेरीरहेका निर्बाचित प्रदेश सभाका सदस्य द्वय चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरेलाई जनताको माया लाई नबिर्सीएर पटक पटक गाउँजान गरीएको आग्रहलाई हजारौ जनताले तालिको गड्गढाहटले समर्थन गरेका थिए भने नेताहरु पनि सकारात्मक रुपमा लिए । कलाकार ज्योती मगरको हाउभाउको बिषय लाई लिएर निक्कै चर्चा हुनेभएको भएपनि नवोदित कलाकारहरुले अझैबढी हाउभाउ, पेचीलो अभिव्यक्ति र प्रदर्शन त्यस पहिले नै मञ्चमा देखाई सकेकाले उनले भने खासै आलोचना खेप्नु परेन ।

मेलाको हाल सम्म करीब १ लाख स्थानीय बासिन्दाले अबलोकन गरेको मूलसमारोह समितिका  संयोजक कृण्ण प्रसाद श्रेष्ठले बताउनुभयो । मेलामा हाल सम्म करिब १० करोड बराबरको व्यापार भएको उहाँको भनाई छ । मेलाबाट बचत हुन आएको रकम सामाजिक काममा लगाईने उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका श्रेष्ठले बताउनुभयो । दर्शकहरुको आग्रहलाई मध्यनजर गर्दै मेला अबधि ३ दिन थपगरी माघ २४ गते सम्म मेला चलाउने तयारी भएको मूल आयोजक समितिका सहसंयोजक गोबिन्द भुसालले बताउनुभयो । मेलाले जिल्लाको औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा  व्यापार प्रबद्र्धनमा सहयोग पुग्ने उहाँको दाबी छ । स्थानीय निकायको गठन सँगै सुस्ताएको सन्धिखर्कमा चहल पहल ल्याउन मेला निक्कै प्रभावकारी भएको भुसालको भनाई छ । मेलाले सिमित व्यक्तिको मन दःुखे पनि हजारौं व्यक्ति खुसी भएको भन्दै उनले आगामी बर्षहरुमा पनि थप व्यबस्थापनका साथ मेला चलाउनुपर्ने बताउनुभयो ।

३ सय ५० व्यापारीक स्टल राखीएको मेलामा पिङ्ग, मतकाकुवा लगायतका मनोरञ्जनका खेलहरु समेत राखिएका छन् । नेपालीहरुको गौरबको प्रतिकको रुपमा रहेको काठमाण्डौ धरहरा भूकम्पले ढलेर दुःख मानेका स्थानीय बासीलाई शान्त्वना दिलाउने गरी मेलापरीसरमा नक्कली धरहराको समेत निर्माण गरीएको छ । हजारौ दर्शकहरुले नक्कली धरहरा लाई फोंटो सेसनको स्थल बनाउने गरेका छन् । मेलामा  सहभागि हुन आउने कलाकार र बाहिरी जिल्लाका अतिथिहरुले जिल्लाका पर्यटकिय स्थलको अबलोकन समेत गर्ने गरेका छन् । सुपादेउराली मन्दिर, डमरुदह ठाडा, भगवती मन्दिर अर्घाखाँची मन्दिर, नृसिंह स्थान हंसपुर, बल्कोट पौवा, गोपेश्वर पिठ मथुरा, पाणिनी तपोभूमि पणेना, शिद्धेश्वर मन्दिर चुत्राबेसी, मालारानी मन्दिर लगायतका एतिहासिक, धार्मिक रमणिय पर्यटकीय स्थलहरु उनीहरुको रोजाई ठाउँ बनेका छन् । महोत्सवमा दर्शकको ध्यानलाई मध्यनजर गर्दै तीन दिन थपिएको आयोजकले जनाएको छ । यो सँगै महोत्सव आगामी माघ २४ गते सम्म चल्ने छ । 



बुलन्द साप्ताहिकको माघ २१ गतेको अंक







,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस