बुलन्द राष्ट्रिय साप्ताहिकको पौष १६ गतेको अंक

बुलन्द राष्ट्रिय साप्ताहिकको पौष १६ गतेको अंक



विकासको बलियो आधार बन्दै छ ः पर्यटन
शोभाखर पन्थी
बुलन्द, अर्घाखाँची


अर्घाखाँची जिल्लामा पर्यटन प्रबद्धनको बलियो संभावना देखिएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडीएको यस जिल्लामा ४ दर्जनभन्दा बढी ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सुन्दर रमणीय  पर्यटक स्थलहरु रहेका छन् । यहाँको पाणिनी तपोभुमि पणेना, सुपा देउराली मन्दिर खाँचीकोट र भगवति मन्दीर अर्घा देशकै प्रसिद्ध मानिन्छन् । 
पाणिनी ऋषिले तपस्या गरेको पाणीनी तपोभुमि पणेना संसारकै पवित्र ठाउँ मानिन्छ । अधिकासं हिमशिखर र तराईका भू–भागको एकैठाउँबाट दृश्र्यावलोकनगर्न सकिने पणेनाको  प्राकृतिक वातावरण साँच्चै चर्चा गर्न योग्य छ । जिल्लाको सुपा देउराली मन्दिर लाखौ लाख जनताको विश्वास र आधारको प्रतिक बनेको छ । गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डमा पर्ने सो मन्दिरमा दैनिक पुजा–आजाको निम्ति झण्डै ३ हजार भक्तजनहरु आउने गर्छन् । देउरालीको दर्शन गरी भाकल गरेमा चिताएको पुग्ने विश्वासको आधारमा नेपालका ३० भन्दा बढी जिल्ला र भारतबाट समेत भक्तजनहरुको प्रत्येक दिन घुँइचो लाग्ने गर्छ । जिल्लामा दर्जनौ सुन्दर पहाड, सयौं मठ मन्दिर, दह, पोखरी र प्राकृतिक गुफाहरु  तथा वाईसी–चौबिसे राज्यका दरवार समेत रहेका छन् । 
भगवति मन्दीर अर्घा, खाँचीकोट दरवार खाँचीकोट, डमरुदह ठाडा, दुर्वासेश्वर गुफा खिदीम, पाणिनी तपोभुमि पणेना, उल्क छत्र महाराजको मन्दिर छत्रगञ्ज, जालकाँडा लेक खन, बल्कोट पौवा र शिवालय बल्कोट, नृत्यञ्चलपर्वत र रामवाण तपोभुमि नरपानी, मसीना र तीनपाने लेक धातिवाङ्ग, सेङलेङ्ग दह धनचौंर, सुपा देउराली खाँचीकोट, मनचिन्ते पानी, सितखोलाको झरना, रावणको शंखसितापुर, भाले ओढार धारापानी, पकले बगैचा र पौवा किमडाँडा, भुमिका स्थान ढाकावाङ्ग, सिमे देउराली गोखुङ्गा, घेराको लेक खनदह, नृसिंह मन्दिर हंसपुर, राँगामारे मन्दिर हंसपुर, कोदारे झरना अर्घातोष, सरेपानी ठाडा, गौचौरको दह ढिकुरा, तिलखुवाझरना, जिखोदीगुफा वाङ्ला, सिद्धेश्वर गुफा डिभर्ना, हटियादेवि मन्दिर केरुङ्गा जिल्लाका प्रमुख ऐतिहासिक धार्मीक तथा पर्यटकीय स्थल हुन् । 
यसैगरी जिल्लाकाअन्य ऐतिहासिक स्थलहरुमा ढावरखोला झरना चिदीका, मधु लेकको गुफा चिदीका, धैरेनी राजाको दरवार ठुलापोखरा, शिद्धबाबा स्थान खनदह, जालकाँडा मन्दिर खन, छहरा खोलाझरना खन,  खन देउरालीगुफा खन, गोपेश्वर पीठ वाङ्ला, लामपाटी पौवावाङ्ला, ओडारपानीगुफा अर्घा, गोहोरथुम देउराली किमडाँडा, बान्द्रे गुफागोखुङ्गा, छहरे खोलाझरना सिमलपानी, ठुलापोखरा गुफासिमलपानी, रानीओढार सुवर्णखाल, मेघनाथ गुफा सिद्धारा, गुरुङ भिरको गुफा सिद्धारा, कालीमाटीको लेक मैदान, मालिकामन्दिर खिदीम, कैलाश डाँडा पणेनाआदी छन् । 
सबै गाविस र वार्ड–वार्डमा समेत सडक सुविधापुगेको यस जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेमा प्रत्येक वर्ष देशभित्र तथा बाहिरका हजारौ पर्यटक भित्राएर लाखौं आम्दानी गर्न सकिने बलियो संभावना रहेको सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बि.क. किशोर ले बताउनु भयो  । जिल्लालाई पर्यटन उद्योगको रुपमा विकास गर्न केन्द्र र जिल्लाबाट विशेष कार्यक्रम अगाडी ल्याउने तयारी भईरहेको उहाँको भनाई छ ।

पर्यटन क्षेत्रको विकासबाट जिल्लाको आर्थिक अवस्थामा सुधार गर्नुका साथै स्थानीय बासिन्दाहरुको जिवीको पार्जनमा व्यापक सुधार ल्याउन सकिने पर्याप्त संभावना रहेको एमाले जिल्ला सचिबालय सदस्य पिताम्बर भुसालले वताउनुभयो । सरकारी उदासीनता र संचार माध्यमको पँहुचको अभावमा जिल्लाका सम्पदाहरु ओझेलमा परेको उहाँको भनाई थियो ।
जिल्लाका हजारौं युवाहरु रोजगारीको लागी खाडी मुलुकमा जान बाध्य भएको अवस्थामा पर्यटकीय क्षेत्रको विकास गर्न सकिएमा स्थानीय तहमै रोजगारी श्रृजना गरी विदेश पलायन हुनबाट युवा जनशक्ति रोक्न सकिने बुद्धिजीवि श्रीकृण्ण भुसालको भनाई छ । 









,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस