बुलन्द साप्ताहिकको कार्तिक २६ गतेको अंक

तीन दशकदेखि चर्चामै सिमित नौमुरे बहुउद्देश्यीय आयोजना
चुनावी नारामा सधै अगाडि
बुलन्द, अर्घाखाँची

नौमुरे बहुउद्देश्यीय आयोजनाको तीन दशकदेखि चर्चा मै छ । ऐतिहासिक तथा पर्यटकीय स्थलको रुपमा रहेको ऐरावतिमा बनाउने भनिएको आयोजना करिव तीस वर्ष चर्चा चलिरहँदा समेत सिन्को भाचिएन ।ऐरावति अर्थात झिमरुक र माण्डवी नदीको संगम र राप्ती नदीको उद्गममा बनाउने भनिएको उक्त आयोजना अर्घाखाँची र प्यूठानको सिमानामा रहेको छ । २ सय ४५ मेगावाटको क्षमता भएको सो आयोजना पञ्चायत कालमा नेपालकै सस्तो लगानीमा निर्माण गर्ने परियोजनाका रुपमा रहेको भन्दै २०४४ देखि २०४६ सम्म प्रारम्भिक अध्ययन गरिएको थियो ।
६४ सालबाट पुनः चर्चामा रहेको उक्त आयोजना गणतन्त्र नेपालको पहिलो संविधान सभाको निर्वाचन पछि प्रधानमन्त्री बनेका तत्कालिन माओवादी अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) भारतको भ्रमणको क्रममा भारतले नेपाललाई उपहार स्वरुप बनाइदिने समेत घोषणा गरेको थियो । भारतको प्रतिवद्धता कार्यान्वयन नहुनु र सरकारको प्राथमिकतामा नपर्नुले आयोजना सरकारको कार्यान्वयनमा जान सकेको छैन । सरकारको नीति तथा कार्यक्रममा एक प्रदेश एक जलाशय युक्त जलविद्युत आयोजना अन्र्तगत नौमुरेलाई घोषणा गरेपनि कागजमा सिमित बन्न पुगेको छ । ९० मिटरको बाध निर्माण गरी नौमुरेलाई बहुउद्देश्यीय योजनाको रुपमा निर्माण सम्पन्न गर्न ३२ करोड अमेरिकी डलर लागत अनुमान गरिएको छ । प्यूठान र अर्घाखाँचीका जनप्रतिनिधी पटक पटक सरकारको उच्च मन्त्रालयको जिम्मा पाएपनि नौमुरेको चासो नदेखाउँदा आयोजना कार्यान्वयनमा आउन नसकेको स्थानीय अमर रेश्मीले बताउनुभयो । सन २००७ सालमा गरिएको अध्ययन पश्चात बहुद्देश्यीय आयोजनाबाट विद्युतीकरण संगसंगै दाङ र कपिलवस्तुका खेतियोग्य भुमि सिँचाई गर्ने उद्देश्य सहित आयोजनाको परिकल्पना गरिएको छ ।
सरकारको प्रतिवद्धता पनि फेल
२०७१ साल साउनमा सरकारले नौमुरे आयोजना नेपाल सरकारले नै गर्न सक्ने भन्दै नेपाल सरकारले आफै आयोजना निर्माण गर्ने र भारतलाई राप्तीको पानी दिन नसक्ने बताएको हो । नौमुरेको आयोजना बनाए बापत भारतले पानी लैजाने भनेको थियो । गत वर्ष नेपाल विद्युत प्राधिकरणले विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पार्ने भनेर आए पनि कार्यले पूर्णता पाएन । प्रतिवेदनको लागि सरकारले २० करोड समेत बजेट विनियोजन गरिएको थियो ।
दुई जिल्लाको चुनावी नारा
नौमुरे तिन दशक देखि विचमा भएका नौमुरे क्षेत्रमा पर्ने गा.वि.स. अर्घाखाँचीको जलुके, प्यूठानको दाङबाङ गा.वि.स.को चुनाव र संविधान सभाको चुनावमा चुनावी नारामा सिमित भएको छ । ३१ वर्षअघि तीन महिना १० दिन लगाएर अध्ययन गरेको विशेषज्ञसहितको टोलीले दुई सय ४५ मेगावाट विद्युत् निकाल्न सकिने प्रतिवेदन तयार पारेको थियो । जिल्लाका अधिकांश गाविसमा विद्युत् हुँदा त्यस क्षेत्रका जनताले अहिले पनि टुकी र सल्लाको दियालो बालेर दैनिकी गुजार्दै आएका छन्।राजनीतिक दलका नेताहरू सत्ता प्राप्तिको लुछाचुँडीमा केन्द्रित भएकाले विकास निर्माणका काम ठप्प हुँदै आएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका महासचिव नेत्रप्रसाद भुसालले बताउनुभयो । ३१ वर्षदेखि चर्चामा आएर सेलाउँदै गएको नौमुरे परियोजना सञ्चालन भए अर्घाखाँची, प्युठान, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ जिल्ला लगायतका जनता लाभान्वित हुने उनको भनाइ छ।सुख्खायाममा समेत यस आयोजनाबाट २ सय ४५ मेगावाट विद्युत् उत्पादन गर्न सकिने अध्ययन टोलीले प्रतिवेदन निकालेको छ । आयोजनाबाट दक्षिणी प्यूठानको बांगेसाल, हंसपुर, ढुंगेगढी, बरौलासहित अर्घाखाँचीको जलुके, सिद्धारा, धनचौर र जुकेनाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।






, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस