बुलन्द राष्ट्रिय साप्ताहिकको पौष १० गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष १० गतेको अंक
बन्दुक समाएका हातले अण्डा समाएपछि’
‘बार्षिक ३६ लाख बचत’
प्रेम आचार्य
बुलन्द,
अर्घाखाँचीको पणेनाका पिताम्बर पोख्रेल बन्दुकबाट क्रान्ती गर्न सकिन्छ भन्ने मान्यताले माओवादीमा लाग्नुभयो । उहाँ जनमुक्ति सेनाको कमाण्डर पनि बन्नुभयो । देशमा शान्तिवार्ता पछि अब कृषिमा केहि गरेर देखाउन पर्छ भन्ने मान्यताले जनमुक्ति सेनावाट स्वेच्छिक अवकास लिएर उहाँ कृषिमा लाग्नुभयो । ‘बन्दुक समाएर समाज र देश परिबर्तन गर्न हिडीयो, क्रान्ति सफल भएन कुखुरा पालनमा लागे, उहाँले भन्नुभयोे ‘अहिले मनग्य आम्दानी भएको छ ।’
उहाँ आफुले एक्लै गर्नुभएन, आफै नगरे सम्म अरुलाई मुखले भनेर मात्र हुदैन परिबर्तन आफैबाट गर्नु पर्छ भन्ने मान्यताका साथ पणेना गाविसका अगुवाहरुलाई पनि साथमा राखेर कुखुरापालनमा लगाउनुभयो । अहिले उनीहरुले कुखुरा पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । उनीहरुले संयुक्त रुपमा पणेनाको डुम्रीकोटमा डुम्रीकोट बहुदेशिय कृषि फर्म दर्ता गरेर व्यवसायीक कुखुरा पालन मात्र हैन राजनिति, समाजसेवा र आफ्नो पेशालाई पनि निरन्तरता दिएका छन् ।
पणेना गाविस निवासी कांग्रेस अर्घाखाँचीका पूर्ब सभापति तथा जिल्ला विकास समितिका पुर्ब सभापति खगेन्द्रराज पोख्रेल, नेकपा (माओवादी) अर्घाखाँचीका प्रमुख पिताम्बर पोख्रेल, स्थानीय नेपाल राष्ट्रिय माबिका प्राचार्य पुस्करराज पोख्रेल, कर्मचारी कृष्ण पोख्रेल, स्वास्थ्यकर्मी पिताम्बर पोख्रेल लगायत आठ जनाले सुरु गरेको कुखुरा पालन अहिले त्यस क्षेत्रकै नमुना बनेका छन् । २०७० सालको बैसाख १ गते देखि सञ्चालन गरेको कुखुरा फर्ममा अहिले ६ हजार लेयर्स कुखुरा रहेका छन् । कुखुराले अहिले दैनिक तीन हजार अण्डा दिने र अण्डाहरु तानसेन र बुटबलमा बिक्री भैरहेको फर्मका अध्यक्ष पिताम्बर पोख्रेलले बताउनुभयो । कुखुरा पालनको सबै खर्च कटाएर मासिक तीन लाख बचत हुने गरेको उहाँको भनाई छ । उहाँ जनमुक्ति सेनाका पुर्ब कमाण्डर हुनुहुन्थ्यो ।
आठ जनाले चार चार लाख उठाएर ३२ लाखको लगानीमा सुरु गरेको कुखुरा पालनबाट अहिले सबै खर्च कटाएर बार्षिक ३६ लाख बचत भएको बताउनुभयो । यो आम्दानी लाई हिसाब गर्दा एकजनाले मासिक ३७ हजार फाईदा कमाउँदै र्आएका छन् । यो आम्दानी गर्नु चानचुनको बिषय भने हैन । उनीहरुलाई बजारको समस्या छैन् । बुटबल र तानसेनका व्यपारीहरुले सम्पर्क गरेर फर्ममै आइ अण्डा किनीदिने गरेका छन् ।
युवाहरुको बिदेश पलायन र जागिर मात्र गर्नु पर्छ भन्ने धारणालाई परिबर्तन गर्न र आफुले गरे पछि अरुपनि कृषि पेसामा लाग्न सक्छन भन्ने सोचका साथ कुखुरा पालनमा लागेको जिविसका पुर्ब सभापति तथा कांग्रेस पूर्ब सभापति खगेन्द्रराज पोख्रेलले बताउनुभयो ।
कुखुरापालनमा जिल्लाको पूर्बी क्षेत्रकै नमुना बनेपछि अहिले अर्घाखाँचीको पणेना, खिदीम, पोखराथोक तथा पाल्पाको छहरा र भुवनपोखरीमा समेत झण्डै ५० जना युबाहरु व्यवसायीक तरकारी र कुखुरापालनमा लागेको उहाँको भनाई छ । मनमा साहस र शरीरमा जागर हुने हो भने पैसा पैसा भनेर जागिर र बिदेसनै जानु पर्छ भन्ने सोचाई रहेको हाम्रो समाजका उदाहरणीय पात्र बनेका पणेनाका अगुवाहरुले गरेको कृषि क्रान्ति साच्चिकै नमुना रहेको छ ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस