बुलन्द राष्ट्रिय साप्ताहिकको मंसिर १२ गतेको अंक
अखण्ड ५ नम्बर प्रदेशका लागि अर्घाखाँचीका दलहरु एकढिक्का
चलखेल हुन भए संघर्षमा होमिने चेतावनी
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
अखण्ड ५ नम्बर प्रदेशका लागि अर्घाखाँचीका दलहरु एकढिक्का भएका छन् । अर्घाखाँची उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ अर्घाखाँचीको संयुक्त आयोजनामा भएको नेपालको संविधान २०७२ मा ५ नम्बर प्रदेशको बिषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा पटक पटक अखण्ड लुम्बिनी र अखण्ड पाँच नम्बर प्रदेशको एकता माथि खेलवाड गर्ने प्रबृति बढेको भन्दै जिल्ला स्थित सम्पूर्ण राजनीतिकदलहरुले कडा भन्दा कडा संघर्षमा उत्रने चेतावनी दिएका हुन् । जिल्ला स्थित राजनीतिक दलहरुले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई टुक्राएर तराईलाई सिक्कीमिकरण गराउने चलखेल हुन थालेको भन्दै एक स्वरमा संघर्षमा होमिने चेतावनी दिएका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुु प्रसाद खनाल मुस्कानले पाँच नम्बर प्रदेशलाई टुक्राउने षड्यन्त्र गरिएकोले त्यसको प्रतिकारमा उत्रन तयार रहेको बताउनुभयो । संघिय पुर्न संरचनाको नाममा ५ नम्बर प्रदेशलाई टुक्राउने र तराईका जिल्लाहरुबाट गुल्मी, पाल्पा र अर्घाखाँचीलाई छुट्याउने षड्यन्त्र कहि कतैबाट हुुन नदिने मुस्कानले बताउनुुभयो । उहाँले पहाडी तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुुक्त भएको बताउँदै पहाडी जिल्ला टुक्राउने षड्यन्त्र सफल नहुने दाबी गर्नुभयो ।
नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले हालको पाँच नम्बर प्रदेशलाई यथावत नराखिए कडा संघर्षमा उत्रने चेतावनी दिनुुभयो । आचार्यले हिमाल, पहाड, तराई बीचमा आपसी सम्बन्ध रहँदै आएको दाबी गर्दै खण्डित पाँच नम्बर प्रदेश किमार्थ स्वीकार्य नहुने जिकिर गर्नुभयो । अखण्ड प्रदेशको लागि एमाले सडक तथा सदनमा कडा संघर्ष गर्ने भन्दै आचार्यले सिङ्गोपार्टी बलिदान दिन तयार रहेको दाबी गर्नुभयो । देश बिदेसीको ईसारामा अहिले सरकार ५ नम्बर प्रदेशलाई टुक्राउन लागि परेको आचार्यको आरोप थियो । उहाँले ५ नम्बर प्रदेश टुक्राउन खोजे गाउँ बस्तिहरुबाट जनता उर्लने बताउँदै पाँच नम्बर कुनै हालतमा टुक्राउन नदिने बताउनुुभयो । उहाँले तराईका प्रदेशलाई सिक्कीममा जस्तै प्रक्रियागत ढङ्गले आफ्नो उपनिवेश जमाउने भारतको चाहना रहेको भन्दै सम्पूर्ण राष्ट्रवादी शक्तिले त्यो चाहनालाई सफल हुन नदिने बताउनुभयो ।
नेकपा माओबादी केन्द्रका जिल्ला सह—संयोजक छमकुमारी खनालले माओबादीले पहिचान र सामाथ्र्यका आधारमा मात्रै प्रदेशको बिभाजन गरेकाले बिगतको निर्णय परिमार्जन गर्ने पक्षमा आफुहरु नभएको जिकिर गर्नुभयो । चिनारीले ५ नम्बर प्रदेश कुनै बाहानामा टुक्राउन खोजे आफुहरुले प्रतिकार गर्ने र जनता सडकमा उत्रने प्रष्ट पार्नुभयो । अखण्ड लुम्बिनी र अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा पार्टीमा दुईमत नरहेको पनि जानकारी गराउनुभयो । उहाँले पार्टी तहबाट निरन्तर रुपमा अखण्ड पाँच नम्बर प्रदेशको निम्ती वकालत गर्दै आएको बताउनुभयो ।
सरकारले संबिधान संशोधनको प्रसंङ्ग चलाएसँगै अर्घाखाँचीमा यतिवेला अखण्ड पाँच नम्बर प्रदेशको बारेमा चर्चा चल्न थालेको छ । अखण्ड प्रदेशको पक्षमा तीन ठुला राजनीतिक दल मात्रै नभई संघियतालाई नमान्ने दल पनि यतिवेला अखण्ड पाँच नम्बरको पक्षमा उभिएका छन् । मुलुकमा संघियता टिक्न नसक्ने बताउँदै आएको जनमोर्चाले संघियताको उपज अहिले मुलुक र जिल्ला टुक्राउने चलखेल नभएको बताएको हो । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय सदस्य सागर केसीले पाँच नम्बर प्रदेशलाई टुक्राउन नहुने बताउनुभयो । केसीले ठुला दलले साना दलहरुलाई साक्षी मात्रै राख्ने प्रबृति बढेको भन्दै देशबासी संघियताको बिपक्षमा लाग्नुुपर्ने बताउनुभयो ।
राप्रपाका अम्बर थापा, नयाँ शक्तिका नेता गोकर्ण थापा, नेकपा माओबादीका योगेन्द्र चौहान, राष्ट्रिय जनमुक्ति पार्टीका नेता टोप बहादुर बलाल, नेपाल पत्रकार महासंघका सभापति शोभाखर पन्थी लगायतले अखण्ड पाँच नम्बर प्रदेशको निम्ती सबैपक्षबाट खबरदारी जरुरी रहेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका बरिस्ठ नेता कमल प्रसाद भुसाल, उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष असोक कुमार श्रेष्ठ, सचिब प्रदिप मिश्र, होटल व्यवसायी संघका अध्यक्ष नोलराज भन्डारी, निर्माण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष कासिराम बस्याल, निर्माण ब्यबसायी संघका उपाध्यक्ष युबराज श्रेष्ठ लगायतको आथित्यता रहेको थियो । कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, पत्रकार महासंघका कोषाध्यक्ष गणेस खनालको सञ्चालन र अर्घाखाँची उद्योग बाणिज्य संघका नेत्रप्रसाद भुसालको स्वागतमा सम्पन्न भएको थियो ।
पाँच नम्बर प्रदेश नटुक्राउने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
अर्घाखाँची जिल्लाका राजनीतिक दल र सरोकारवालाले ५ नम्बर प्रदेश टुक्राउन नहुुने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुुझाएका छन् । पाँच नम्बर प्रदेश टुुक्राउन बिभिन्न बाहानाबाझी भैरहेको भन्दै जिल्ला स्थित संघ संस्थाले त्यसको बिरोधमा जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुुन् ।
उनीहरुले जनभावनी बिपरित जबरजस्त प्रदेशनको हेरफेर गरीए आन्दोलनमा उत्रने चेतावनी दिएका हुुन् । तराई र पहाडलाई अलग गर्न नहुने भन्दै तराईका जिल्लाबाट गुल्मी, पाल्पा र अर्घाखाँचीलाई छुट्याउन खोजे त्यसको यथोचित प्रतिकार र आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतले हस्ताक्षरित ज्ञापन पत्रमा कुुनै हालतमा पाँच नम्बर प्रदेशलाई टुक्राउन नहुने उल्लेख गरिएको छ ।
त्यस्तै जिल्ला स्थित बिद्याथी सँगठनहरुले समेत अखण्ड पाँच नम्बर प्रदेशको माग गर्दै प्रमुुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुुझाएका हुन् । नेबिसंघका जिल्ला कार्यबाहक सभापति सुरज रायमाझी, अनेरास्वबियुुुका जिल्ला अध्यक्ष प्रदिप नेपाली लगायतका जिल्ला स्थित बिद्यार्थी संगठनले संयुुक्त रुपमा ज्ञापन पत्र बुुझाउँदै अखण्ड पाँच नम्बर हलचल गरिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस