बुलन्द राष्ट्रिय साप्ताहिकको पौष ३० गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष ३० गतेकोअंक
सुन्तलाको बीमा गर्न कृषकहरुको माग
असीनाले सिम्लेमा सुन्तला उत्पादन आधा घट्यो
प्रेमनारायण आचार्य
बुलन्द, अर्घाखाँची
अर्घाखाँचीको पाणिनि गाँउपालिका वाड नम्वर १ पणेना सिम्लेका कृषकहरुले सुन्तला खेतीको बीमा गरिदिन सरकारसंग माग गरेका छन । उनीहरुले कहिले रोग त केहिले असीनाले सुन्तला खेती नस्ट हँुदा सुन्तला खेती गर्ने कृषकहरु घाटामा जान थालेको भन्दै बीमाको माग गरेका हुन ।
विगतका बर्षहरुमा सुन्तला बिक्रीबाट ३ करोड भित्रिने सिम्लेमा यस बर्ष असीनाले सुन्तला नोक्सान गरेपछि उत्पादनमा आधा घटेको छ जसका कारण डेढ करोड मात्र भित्रिने भएको कृषक रेवतीराज पौडेलले बताउनुभयो । ४९ जना सुन्तला खेती गर्ने कृषक रहेका सिम्लेका कृषकहरुबाट तथ्यांक संकलन गर्दा असीनाले आधा उत्पादन घटेको र जस्का कारण आम्दानी पनि ५० प्रतिशतले घटेको हो । उत्पादन आधा घट्दा गाँउमा डेढ करोड रकम भित्रिन नसकेको उहाँले बताउनु भयो । कृषकहरुलाई राहतका कार्यक्रमका साथै बीमाको व्यबस्था गर्न सरकार समक्ष किसानहरु माग गर्दछन् ।
पणेनाको सिम्ले सुन्तला खेतीको नमुना गाँउ हो । भारतमा सिपाहीको जागिर गर्दै गर्दा खान नपाएर आएका नेपाली भन्ने असब्य शब्द सुनेका कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किएका पणेना गाविसका ७३ वर्षिय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला कृषक बन्न सफल बन्नुभएको छ ।
२०२७ सालमा भारतमा जागीर गर्दै गर्दा भारतीयले नेपालीहरु प्रती गरेको घृणाको वचन सहन नसकि जागीर चटक्कै छाडेर घरमै फर्किएका पौडेल नेपाली माटोमा केहि गरेर देखाउन सक्छु । भन्ने दृढ संकल्पका साथ सुन्तला खेती गर्न सुरु गर्नुभयो । उहाँ आफु मात्र सुन्तला लगाउनुभएन । सारा गाँउका मानिसहरुलाई नै सुन्तला खेती गर्न प्रेरित गर्नुभयो । अभियानका साथ आफै डोकोमा बोकेर घरघरमा सुन्तलाका बिरुवा पु¥याउनुभयो । पैसा हुनेलाई बिरुबा पैसोमा बेचे नहुनेसँग श्रम साटे भने कसैसंगबाट अन्न, डोका नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघरमा लगाउन अनुरोध गर्नुभयो । कसैकसैलाई निशुल्क बिरुबा दिएर पनि सुन्तला लाउन प्रेरित गर्नुभयो हुमनाथले ।
उहाँले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट बार्षिक ६ लाख रुपैया भन्दा बढि आम्दानी हुने गरेको र आफ्नो परिबारलाई मस्तीले खान लाउन पुगेको बताउनुभयो । अहिले असीनाले हानेको कारण सुन्तलाबाट सोचे जति आम्दानी गर्न नसकिएको उहाँको भनाई छ । उहाँको सुन्तला बगैचामा अहिले झण्डै साढे ५ सय सुन्तलाका बिरुवा रहेका छन् । बारी, खेत, खर्क सबैमा सुन्तलाको खेती गरेका छन ।
एक ब्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पणेना गाविस र पोखराथोक गाविसमा समेत प्रमुख उत्पादनको स्रोत बनेको छ । पणेना गाविसमा दुइ सय र वाड न १ सिम्लेमामात्रै झण्डै ७० जना कृषकहरुले अहिले सुन्तला खेतीबाट घटीमा ५० हजार देखि बढिमा १२ लाख सम्म मनग्य आम्दानी गरिरहेका छन् । पणेना वाड न. १ सिम्लेमा बैदेसिक रोजगारीमा गएका युबाहरु पनि रोजगारीबाट फर्किएर व्यबसायीक सुन्तला खेतीमा लागेका छन् । ब्यबसायीक सुन्तला खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैँचामा झण्डै तीन सय पचास सुन्तलाका रुख रहेका छन् । ती रुखहरुबाट बार्षिक तीन देखि पाँच लाख रुपैया आम्दानी हुने गरेको उनको भनाई छ । सुन्तला बिक्रीको लागि पनि सिम्लेका सुन्तला उत्पादक कृषकलाई कुनै समस्या छैन । यहाँ उत्पादन भएको सुन्तला प्रति केजी ७५ रुपैया देखि ९० रुपैयामा बुटबलको बजारमा बिक्री भैरहेको पौडेलले बताउनुभयो ।
सुन्तला बिक्रीबाट मात्र हैन सुन्तला र सुन्तला जातका बिरुबाको नर्सरी राखि बिरुबाहरु बेचेर रेवतीराज पौडेलले बार्षिक १० लाख रुपैया कमाउने गरेका छन् । तर यस बर्ष असीनाले उत्पादनमा आधा घटेको उहाँले बताउनुभयो । उहाँको बगैचामा अहिले सुन्तला, कागती, जुनार इन्डियन किन्नु जातको सुन्तला, जापनीज उन्सु जातको ६० हजार बिरुबा रहेका छन् । गएको बर्षमात्र साढे ६ लाखको बिरुबाहरु बिक्री गरेको र यो बर्ष झण्डै ६ लाख रुपैया सुन्तला जातका बिरुबाहरु बिक्री गरेर आम्दानी हुने बताउनुभयो ।
रोजगारीको लागि भारत र अन्य देशमा गएका नेपालीहरु पनि सिम्लेका हुमनाथको जस्तै बिचार लिएर अगाडी बढ्न सके देशमा आर्थिक क्रान्ती गर्न सकिन्छ । रोजगारीको लागि बिदेशीहरुको मुख ताक्नु नपर्ने र देशमा असल राजनेता नहुदा नेपालको विकास हुन नसकेको उहाँले बताउनुभयो । गएको वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यलयले बताएको छ । जिल्लामा झण्डै एक हजार हेक्टरमा सुन्तला खेती भैरहेको र यस वर्ष ५५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यलयका थिरलाल गैरेले बताउनुभयो । जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला सन्धिखर्क, तम्घास, तानसेन र बुटबलमा बिक्री भैरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष ३० गतेकोअंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस