‘संसद भवन नछोड्नु, चिया र जुस पनि भित्रै खानु’

काठमाडौं, साउन ६ – नेपाली कांग्रेसले आफ्ना सांसदलाई अविश्वासको प्रस्ताव पारित नभएसम्म संसद भवन नछाड्न कडा निर्देशन दिएको छ । संसद भवन नयाँ बानेश्वरमै बिहीबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसदहरुलाई संसद परिसर नछाड्न निर्देशन दिनुभएको हो । 

सभापति देउवाले चिया खानसमेत संसदको क्यान्टिनबाट बाहिर नजान भनेको सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो । देउवाको भनाइ उद्धृत गर्दै खतिवडाले भन्नुभयो, ‘तपाईंहरु चिया र जुस खानसमेत संसदबाट बाहिर नजानु होला । अघिल्लोपटक केही सांसदले हेलचेक्रइ गर्दा भित्रै भए पनि मत दिन पाउनुभएन । योपटक त्यो घटना नदोहोरियोस् ।’
 
सभापति देउवाले संसद बैठकमा एमालेका सांसद जसरी प्रस्तुत हुन्छन् त्यसै गरी प्रस्तुत हुन पनि भन्नुभएको छ । आइपर्ने परिस्थितिको मुकाबिला गर्न तयारी अवस्थामा रहन उहाँले निर्देशन दिनुभयो । कर्मचारीतन्त्रमा राजनीति गरेको, अल्पमतमा परिसक्दासमेत रातारात बैठक राखेर नियुक्ति सरुवा बढुवा गरेको र स्थानीय निकायको चुनाव कब्जा गर्ने रणनीति एमालेले लिएकाले सरकार ढाल्नु परेको देउवाको जिकिर थियो । 
कांग्रेस माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावमाथि बिहीबारदेखि छलफल थाल्ने तयारी छ । एमाले र माओवादीले पनि आफ्ना सांसदलाई संसद भवन नछाड्न ह्वीप जारी गरेका छन् ।

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस